राष्ट्रपति भवन अगाडि असन्तुष्ठ जेनजी युवाहरुद्वारा नाराबाजी

राष्ट्रपति भवन अगाडि असन्तुष्ठ जेनजी युवाहरुद्वारा नाराबाजी


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २५ असोज २०८२
  • 5.3K
    Shares

पोखरा, २५ असोज २०८२।

असन्तुष्ट जेन जी युवाहरुले आज राष्ट्रपति भवन शितल निवास अगाडी नाराबाजी गरेका छन्।

जेन जी युवाहरुसंग आज राष्ट्रपति रामचन्द्र पौडेलले आयोजना गरेको छलफलमा सहभागी हुन् नपाएका असन्तुष्ट जेन जी युवाहरुले आज राष्ट्रपति भवन शितल निवास अगाडी नाराबाजी गरेका हुन्।

जेन जी युवाहरुको वार्ता टोलीलाई सहभागी नगराएर सुदन गुरुङको टोलीमात्र शितल निवासभित्र प्रवेश गरेपछि बाहिरै असन्तुष्ट जेन जी युवाहरुले विरोधमा नाराबाजी गरेका प्राप्त समाचारमा जनाइएको छ।

अहिले ठूलो संख्यामा युवाहरु शीतल निवास अगाडि जम्मा भएर आफूहरुलाई पनि भित्र जान दिनुपर्ने माग गरिरहेका छन् । प्रहरीले उनीहरुलाई सम्झाउने प्रयास गरिरहेको छ ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरूको उपस्थितिमा जेनजी प्रतिनिधिहरुसँग छलफल आयोजना गरेका छन्। अहिले शीतल निवासमा छलफल जारी छ ।

सुरुमा १७ जना जेनजी प्रतिनिधि छलफलमा सहभागी हुने तय भए पनि संख्या बढेको बताइएको छ । २० जनाभन्दा बढी जेनजी बैठकमा सहभागी भएको एक जेनजी अगुवाले बताए ।

भ्रष्टाचार नियन्त्रण, सुशासन लगायतका मागसहित जेनजी युवाहरु गत भदौ २३ र २४ गते काठमाडौं उपत्यकासहित देशभर आन्दोलनमा उत्रिएका थिए । सो आन्दोलनको बलमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो ।

त्यसपछि जेनजी युवा अगुवाहरुको समेत सिफारिसअनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी थिइन् । उनीमाथि आगामी फागुन २१ गते आम निर्वाचन गराउने मुख्य जिम्मेवारी छ । तत्काललाई भने उनी जेनजी युवाहरुलाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारीमा छिन् ।

मन्त्रिपरिषद् विस्तार र आगामी निर्वाचनका सन्दर्भमा जेनजी युवा प्रतिनिधिहरुसँग छलफल आयोजना गरिएको हो । तर आधिकारिक जेनजी समूह कुन हो भन्ने खुट्याउन सकिएको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार