इमेज सहकारी ठगी प्रकरणमा ढोरपाटनका मेयर नेपालीविरुद्ध डेढ अर्बको सम्पत्ति शुद्धिकरण मुद्दा दायर

इमेज सहकारी ठगी प्रकरणमा ढोरपाटनका मेयर नेपालीविरुद्ध डेढ अर्बको सम्पत्ति शुद्धिकरण मुद्दा दायर


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २५ असोज २०८२
  • 8K
    Shares

पोखरा, २५ असोज २०८२।

इमेज सहकारी ठगी प्रकरण मुद्दामा बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध डेढ अर्बको सम्पत्ति शुद्धिकरण सम्बन्धि मुद्दा दायर भएको छ।

इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्षसमेत रहेका उनले एकअर्ब ५८ करोड ९४ लाख ५५ हजार रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति शुद्धिकरण गरेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय बागलुङले बिहीबार बागलुङ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

अभियोगपत्रमा एकहजार पांच सय ४३ बचतकर्ताको रकम अपचलन गरी नेपालीले सम्पत्ति शुद्धिकरण गरेको उल्लेख छ। सहकारीका उपाध्यक्ष डोरबहादुर परियार, सचिव सुनील नेपाली, कोषाध्यष लक्ष्मी सेन सुनार तथा सदस्यहरू चित्रबहादुर भण्डारी, रूपा विक, झगबहादुर शाहीले पनि उनको मतियारका रूपमा काम गरेको अभियोगपत्रमा उल्लेख छ।

यस्तै सहकारीको मुख्य कार्यालय बागलुङका शाखा प्रबन्धक शक्ति किसान, लेखा प्रमुख लालमती रोका, सेवा केन्द्र बुर्तिबाङका लेखा प्रमुख अनिता बुढामगर, सेवा केन्द्र गलकाेटका शाखा प्रबन्धक अनिल नेपालीको पनि मिलेमतो रहेको दाबी गरिएको छ।

अभियोगपत्रअनुसार, नेपालीसहितका सञ्चालक तथा कर्मचारीले सहकारी ठगीको रकम पचाउन कृत्रिम खाता खडा गरेर रकम स्थानान्तरण गरेको र उक्त रकम फेरि कृत्रिम ऋणी खडा गरेर ऋणका रूपमा झिकेको पाइएको छ। उनीहरुले राज्यलाई प्राप्त हुने राजस्वसमेत हिनामिना गरेको अभियोगपत्रमा लेखिएको छ।

सहकारी ठगी गरी सो कसुरबाट नेपालीले एक अर्ब ५९ करोड ९४ लाख ५५ हजार तीन सय ९१ बराबरको सम्पत्ति शुद्धिकरण गरेकोले बिगोको दोब्बर जरिवाना र कसुरको मात्राअनुसार २ देखि १५ वर्षसम्म कैद सजाय हुनुपर्ने अभियोगपत्रमा उल्लेख छ। उनको नाममा रहेको सहकारीको ४० लाखको सेयर, नगद र जग्गासमेत जफत गर्न माग गरिएको छ।

नेपालीकी पत्नी छेला नेपालीका नाममा पनि ६ करोड ९८ लाख ८० हजार सातसय ५२ रुपैयाँ बिगो कायम भएको छ। विभिन्न स्थानमा उनको नाममा रहेका जग्गा जफतसमेतको माग दाबी छ।

प्रतिक्रिया
सम्बन्धित समाचार