पोखरा, २२ असोज २०८२।
नेकपा एमालेका स्थायी कमिटि सदस्य महेश बस्नेतले पार्टी निकट विद्यार्थी संगठन अखिलले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध देशैभरि प्रहरीमा जाहेरी दिने जानकारी दिएका छन्।
आफूविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा परेको उजुरीका बारेमा करीब डेढ घण्टा बयान दिएर निस्किएका नेता बस्नेतले रक पत्रकार सम्मेलन गरेर त्यस्तो जानकारी दिएका हुन्। उनले अघि भने, “‘सार्वजनिक सम्पत्ति अड्डा अदालत, प्रहरी चौकीमा तोडफोड र आगजनी भएको छ । देशैभरका जिल्ला प्रहरी कार्यालयमा केन्द्रको समन्वयमा जिल्ला – जिल्लामा जोहरी दिन्छौं,’
यसअघि मंगलबार अखिल जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिन गएको थियो ।
बस्नेतले सम्पत्ति शुद्धीकरणको अनुसन्धान गर्दा हालका अर्थमन्त्री रामेश्वर खनालबाट शुरु गरिनुपर्ने जिकिर गर्दै खनाल पूर्वसचिव समेत भएकाले उनीबाट छानबिन शुरु गरिनुपर्ने बताए । आज पत्रकार सम्मेलन गर्दै बस्नेतले भने, ‘सम्पत्ति शुद्धीकरण र भ्रष्टाचारको कुरा गर्दा रामेश्वर खनालबाट सुरु गर्ने कि नगर्ने ?’
उनले सरकारका अर्का मन्त्री कुलमान घिसिङमाथि पनि दर्जनौं उजुरी रहेको भन्दै उनीमाथि पनि छानबिन गर्नुपर्ने धारणा राखे । ‘कुलमानजीको अख्तियारमा दर्जनौं मुद्दा छ, सम्पत्ति शुद्धीकरणमा दर्जनौं मुद्दा छ । संसदीय समितिमा दर्जनौं मुद्दा छ, अब छानबिन त्यहाँबाट सुरु गर्ने कि नगर्ने ?’ बस्नेतले भने ।
उनले संसद् पुनर्स्थापना भए जेजनीले उठाएका केही माग चुनावअघि नै पूरा गर्न सकिने समेत दाबी गरे । ‘संसद् पुनर्स्थापना भनेको बाँकी रहेको २ वर्ष पूूरा गर्ने भन्दा पनि जेनजीका मागलाई पूरा गरेर साझा सहमति बनाएर, सबै शक्तिको अस्तित्व स्वीकार गरेर सबैले स्वीकार गर्ने निष्पक्ष चुनाव गरेर सबै पक्षलाई समेटेर जान सक्ने अवस्था हुन्छ,’ बस्नेतले भने, ‘त्यसकारण संसद् पुनर्स्थापनाका पक्षमा धेरै सकरात्मक हिसाबले छलफल गरिरहेका छौँ।’
जेनजीहरूले चुनावअघि नै संविधान संशोधनको कुरा उठाइरहेको भन्दै त्यसलाई संसद् पुनर्स्थापना गरेर नै सम्बोधन गर्न सकिने दाबी गरे। ‘संसद्लाई खुलाएर जेजीनका कागहरू के के हुन, त्यसलाई सुत्रवद्ध गरेर पूरा गर्ने,’ बस्नेतले भने, ‘जस्तो संविधान संसोधनको कुरा आएको छ। संसद् पुनर्स्थापना हुने माहोल बन्यो भने जेजनीका कतिपय मागहरू आउँदो चुनावअघि नै हामी पूरा गर्न सक्छौँ।’