काठमाडौँ, २१ असोज २०८२।
आउने कात्तिक २० र २१ गते राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने भएको छ।
स्वास्थ्य र जनसङ्ख्या मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार आउने कात्तिक २० र २१ गते यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने कार्यक्रम तय गरिएको स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाले जनाएको छ।
हरेक वाढ़सा कात्तिक २ र ३ तथा वैशाख ६ र ७ गते गरी दुई चरणमा यसो कार्यक्रम हुँदै आएकोमा यस वर्ष उक्त समयमा दिपावलीको लक्ष्मी पूजा परेकाले कार्यक्रम सारिएको परिवार कल्याण महाशाखाले बताएको छ।
महाशाखाका निर्देशक डा विवेककुमार लालले सात सय ५३ स्थानीय तहमा दुईदिने अभियानमा पाँच वर्षमुनिका करिब २८ लाख बालबालिकालाई भिटामिन ‘ए’ र करिब ३० लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य राखिएको जानकारी दिए। यस अभियानका लागि ५२ हजार स्वास्थ्य स्वयंसेविका र १५ हजार जना स्वास्थ्यकर्मी परिचालन गरिने उनले बताए।
निर्देशक डा लालले भने, ‘छ महिनादेखि ११ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल मात्र र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुलसँगै जुकाको औषधि खुवाइने छ।’
महाशाखाका अनुसार अघिल्लो चरणमा भिटामिन ‘ए’ क्यापसुल खाने करिब ९० प्रतिशत र जुकाको औषधि खाने करिब ८७ प्रतिशत रहेका छन्। रासस