काठमाडौँ, १९ असोज २०८२।
लगातारको वर्षापछि गएको राती आएको बाढीपहिरोका कारण इलामका विभिन्न ठाउँमा कम्तीमा १७ जनाको मृत्यु भएको छ।
इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ र फाकफोकथुम गाउँपालिकामा ठूलो मानवीय क्षति पुगेको हो।
इलाम नगरपालिका-६ घोसस्थित डम्बरबहादुर तामाङको घर पहिरोले पुरिँदा घरभित्र रहेका ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सो ठाउँमा सशस्त्र प्रहरी बल श्रीअन्तु गणको टोलीले उद्धारकार्य गरेको थियो।
सूर्योदय नगरपालिका-१ मानेभञ्ज्याङमा राजु क्षेत्रीको घर पहिरोले पुरिँदा ५ जनाको मृत्यु भएको छ। तीमध्ये ४ जनाको शव उद्धार गरिएको र एक जनाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ। घटनास्थलमा सशस्त्र प्रहरी नायव निरीक्षक सुरेन्द्र डोटेलको कमान्डमा ७ जनाको टोली खटिएको थियो।
त्यसैगरी देउमाई नगरपालिका-५ घुसेनीस्थित दीपक लिम्बुको घर पहिरोले पुरिँदा २ जनाको मृत्यु, ३ जना बेपत्ता र १ जना घाइतेको उद्धार गरिएको छ।
माङसेबुङ गाउँपालिका-५ पार्टीगाउँमा मदन लिम्बुको घर पुरिँदा ३ जनाको ज्यान गएको छ भने फाकफोकथुम गाउँपालिका-३ रातोमाटेका ३२ वर्षीय सुरेश लिम्बु पनि पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्लाका विभिन्न ठाउँमा उद्धारकार्य जारी रहेको र बेपत्ताहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। साथै, पहिरोका कारण धेरै स्थानमा सडक अवरुद्ध हुँदा यातायात आवागमनमा पनि समस्या भएको छ।