महाधिवेशन अघि नै नेतृत्व छाड्न एमाले अध्यक्ष ओलीलाई बौद्धिक परिषद्को सुझाव

महाधिवेशन अघि नै नेतृत्व छाड्न एमाले अध्यक्ष ओलीलाई बौद्धिक परिषद्को सुझाव


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १७ असोज २०८२
  • 4.2K
    Shares

एमालेको सचिवालय बैठक

पोखरा, १७ असोज २०८२।

नेपाल बौद्धिक परिषद्ले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई आसन्न महाधिवेशनअघि नै पार्टीको नेतृत्व छाड्न सुझाब दिएको छ।

परिषदले असोज २ गते बुझाएको तीन पृष्ठ लामो सुझाव पत्रमा ओलीलाई महाधिवेशन नकुरी आसन्न महाधिबेशन अघि नै पार्टीको नेतृत्व छोड्न सुझाव दिएको हो।

परिषद्का अध्यक्ष गजेन्द्रप्रसाद थपलियाको अध्यक्षतम असोज १ गते बसेको बौद्धिक परिषद सचिवालय बैठकको निर्णय भन्दै एमाले महासचिव शंकर पोखरेललाई बुझाइएको तीन पृष्ठ लामो सुझाब पत्रमा ओलीलाई नेतृत्व छाड्न सुझाव दिँदै त्यसका लागि महाधिवेशन समेत कुर्न नहुने उल्लेख छ। उक्त सुझाब पत्रमा केन्द्रीय कमिटीबाटै विधान बमोजिम नेतृत्व हस्तान्तरण गरेर अघि बढ्न भनिएको छ ।

सुझावमा भनिएको छ, ‘विगतमा विभिन्न नेतृत्वदायी भूमिकामा देश र आन्दोलनलाई योगदान गरिसक्नुभएका आदरणीय नेताहरू अभिभावकीय भूमिकामा बसेर नयाँ नेतृत्वलाई आफ्नो सिकाइ र भोगाइका अनुभवबाट प्रेरित र प्रशिक्षित गर्नु उपयुक्त देखिन्छ । पार्टीको नेतृत्व विधिवत हस्तान्तरण गर्न पार्टी महाधिवेशनको आयोजना गर्नु पर्ने र तत्काल सो काम गर्न प्राविधिक रुपमा सम्भव नहुने भएकाले विद्यमान विधानकै अधीनमा गरी कार्यकारी केन्द्रीय कमिटीबाट यथाशीघ्र निर्णय गर्नु उपयुक्त देखिन्छ ।’

असोज १२ गते ओली निवास गुन्डुमा बसेको एमालेको सचिवालय बैठकमा पनि अधिकांश पदाधिकारीले नेतृत्व परित्याग गर्न सुझाव दिएका थिए। बैठकमा नेतृत्वसहित संगठनको बारेमा र जेन–जी आन्दोलनमा घटेका, घटाइएका घटना तथा त्यसका परिणामहरूको बारेमा छलफल भएको एक पदाधिकारीले बताएका थिए।

यिनै विषयमा छलफल गर्न एमालेले असोज १९ र २० गते पुनः सचिवालय बैठक बोलाएको छ भने आगामी असोज २७, २८ र २९ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ। आगामी केन्द्रीय कमिटी बैठकबाट महाधिवेशनबारे निर्णय हुन सक्ने ती पदाधिकारीको भनाई छ।

प्रतिक्रिया