पोखरा १६ असोज २०८२ ।
रोमानियाको डाले होटलमा भएको आगलागीमा परेर मृत्यु भएका दुई नेपाली महिलाको पहिचान खुलेको छ।
उक्त आगलागीमा परेर इलामको माई नगरपालिका–७ घर भएकी २१ वर्षीया सोनी लिम्बू र काठमाडौँको दक्षिणकाली नगरपालिका–९ की २४ वर्षीया सुस्मिता तामाङ रहेका उनीहरु संगै काम गरिरहेका म्याग्दी बेनीका नारायण विकले जानकारी दिएका छन्।
विकका अनुसार , रोजगारीको सिलसिलामा सोनी एक वर्ष र सुस्मिता पाँच महिनाअघि मात्र रोमानिया आएका थिए। आगलागीमा परी सोनी र सुस्मिताको जलेर घटनास्थलमै मृत्यु भएको थियो। आगलागीबाट घाइते भएकी इलाम चुलाचुली घर भएकी सुमिना मगरको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। उनीहरू बस्ने कोठा होटलकै माथिल्लो तलामा थियो।
उक्त होटलमा उनीसहित पांच जना नेपाली काम गर्थे। उनीहरूमध्ये एकजना बिदामा नेपाल गएका थिए।
स्थानीय समय बिहान ७ बजे ठूलो आवाज आएपछि कोठाबाट बाहिर निस्केर हेर्दा होटलको माथिल्लो तला दनदन बलेको थियो। केही समय पछि प्रहरी र अग्नि नियन्त्रकको प्रयासमा आगो नियन्त्रणमा आयो। प्रहरीले सोनी र सुस्मिताको पूरै जलेको शरीर होटलबाट निकालेको थियो। सोनी बहिनीले लगाएको सुनको लकेटले शवको पहिचान भएको हो’ उनले बताए ।
विद्युत सर्ट भएर आगलागी भएको भनिएको उक्त होटल अग्नि सुरक्षा सम्बन्धी मापदण्ड नपुगेका कारण एक हप्ता अघि नै प्रशासनले बन्द गरेको बताइएको छ।
छोरीको शव नेपाल पठइदिन सोनीका बुवा धनराज लिम्बूले दूतावास तथा रोमानियाको नेपाली समाजलाई आग्रह गरेका छन्। त्यस्तै आग्रह सुस्मिताका भाइ सुसान तामाङको पनि छ।
रोमानियासमेत कार्यक्षेत्र रहेको जर्मनीको बर्लिनस्थित नेपाली दूतावासका नियोग उपप्रमुख सागरप्रसाद फुयालले मृतकको शव नेपाल पठाउन र क्षतिपूर्तिका लागि पहल गर्ने बताए।
लगभग ३० हजार नेपाली कामदार रहेको युरोपेली मुलुक रोमानियामा हाल नेपाल सरकारको दूतावास तथा कुनै पनि कुटनीतिक संयन्त्र छैन।