पोखरा १४ असोज २०८२ ।
जेन जी आन्दोलनका क्रममा ज्यान गुमाएका कास्कीको रुपा गाउँपालिका–५ घर भै प्रहरी प्रभाग कोटेश्वर, काठमाडौंमा कार्यरत प्रहरी सहायक हवल्दार अमृत गुरुङको परिवारलाई सरकारले १५ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको छ।
कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले एक समारोहका बीच प्रहरी सहायक हवल्दार अमृत गुरुङकी श्रीमती कान्ति गुरुङलाई उक्त सहायता रकम हस्तान्तरण गरिन्।
भदौ २३ र २४ गतेको प्रदर्शन भएको जेन जी आन्दोलन गर्ने क्रममा ड्युटीमा रहेका ३५ वर्षीय गुरुङको मृत्यु भएको थियो। राज्यको पक्षबाट शान्ति–सुरक्षा कायम गर्ने क्रममा ज्यान आहुति दिएका गुरुङको सम्मानस्वरूप नेपाल सरकारले मृतकको नजिकको हकदार श्रीमती कान्ति गुरुङको नाममा उक्त सहयोग रकम उपलब्ध गराएको हो।
आर्थिक सहायता हस्तान्तरणका क्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, सशस्त्र प्रहरी, सैनिक तथा राष्ट्रिय अनुसन्धानका प्रतिनिधिसहित जिल्ला सुरक्षा समितिका सदस्यहरू मृतक गुरुङको घर पुगेर परिवारलाई भेटी सान्त्वना दिएका थिए। उनीहरूले दिवंगत गुरुङले राष्ट्र र जनताको सुरक्षामा दिएको योगदानको स्मरण गर्दै परिवारलाई धैर्य धारण गर्न आग्रह गरे।