पोखरा, १० असोज २०८२ ।
स्थानीय जनता र सामाजिक अभियन्ताहरुको चर्को बिरोधका बीच नेपाल प्रहरीले गण्डकी प्रदेशकै प्रशासनिक केन्द्र पोखराको शहिदचोकमा पेट्रोल पम्प संचालनमा ल्याएको छ।
शहिदचोकस्थित नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, पार्दीको हाताभित्र नवनिर्मित नेपाल प्रहरी नमुना पेट्रोल पम्प संचालनमा आएको हो । पम्पले डिजल र पेट्रोल बिक्री गर्न शुरु गरेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।
सरकारी कार्यालयहरु रहेको क्षेत्रभित्र पेट्रोल पम्प निर्माण गर्दा सम्भावित बिपत्ति विनाशकारी र ठुलो हुनसक्ने भन्दै उक्त पेट्रोल पम्प निर्माण प्रक्रिया रोक्न माग राख्दै सामाजिक अभियन्ता रामबहादुर पौडेलले अदालतमा मुद्दा हालेका थिए।
नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण कोष नक्सालबाट सञ्चालित उक्त पम्प जिलाक प्रशासन कार्यालय कास्की, प्रहरी गुल्म , कास्की जिल्ला कारागारसंगै छ भने यस पम्पको नजिकै नेपाल राष्ट्र बैंक, सडक डिभिजन कार्यालय , प्रदेश प्रमुखको कार्यालय , जिल्ला समन्वय समिति जस्ता सुरक्षा संवेदनशीलता भएका कार्यालयहरु रहेका छन्।
नेपाल प्रहरीले करिब नौ करोड ९६ लाख ६५ हजार रुपैयाँ लागतमा पेट्रोल पम्प निर्माण गरेको हो । ‘एनसी अल्फा हेक्स तेजस्वी जेभी’ ले निर्माणको ठेक्का पाएको थियो ।