जेन जी आन्दोलन दबाउनेमाथि कारबाही नगरिएकोमा प्रम कार्कीसमक्ष मेयर बालेनको आपत्ति

जेन जी आन्दोलन दबाउनेमाथि कारबाही नगरिएकोमा प्रम कार्कीसमक्ष मेयर बालेनको आपत्ति


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ८ असोज २०८२
  • 5K
    Shares

पोखरा, ८ असोज २०८२ ।

जेन जी आन्दोलन दबाउनेमाथि कारबाही शुरु नगरिएकोमा प्रधानमन्त्री सुशिला कार्कीसमक्ष काठमाण्डौ महानगरका मेयर बालेन शाहले आपत्ति जनाएका छन्। बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटा पुगेर प्रम कार्कीलाई भेती मेयर बालेनले जेन जी आन्दोलन दबाउनेमाथि कारबाही शुरु नगरिएकोमा आपत्ति जनाएका हुन्।

भेटका क्रममा प्रधानमन्त्री कार्कीले बालेनलाई ‘बाहिरको माहोल के छ?’ भनेर जिज्ञासा राखेकी थिइन्। त्यसपछि बालेनले विकसित घटनाक्रमबारे आफ्नो धारणा राखेका थिए। त्यही बीचमा उनले जेनजीका मागहरूको सम्बोधनका विषयमा प्रश्न राखेका थिए।

बालेनको विशेष जोड भने भदौ २३ गते भएको जेनजी प्रदर्शनमाथि गोली चलाउने र त्यसका लागि आदेश दिनेहरूमाथि कारबाही नभएकोमा असन्तुष्टि पोखेका थिए। ‘सरकार गठन भएको यतिका दिन भइसक्यो। गोली चलाउनेहरू र आदेश दिनेहरू कहाँ छन्? अहिलेसम्म उनीहरूलाई किन पक्राउ गरिएन?’ बालेनले भने।

बालेननिकट स्रोतका अनुसार, पीडित परिवारहरूले पनि यो प्रश्न उठाइरहेको र तत्काल कारबाही नभए असन्तोष बढ्दै जान सक्नेतर्फ पनि उनले सचेत गराएका थिए।

जवाफमा प्रधानमन्त्री कार्कीले यस विषयमा आफू गम्भीर रहेको प्रतिक्रिया दिइन्।

‘उहाँ (प्रधानमन्त्री कार्की) ले गर्दै छौँ, हुँदै छ भन्नुभयो,’ स्रोतको भनाइ छ, ‘अत्याचार गर्ने, शक्तिको दुरुपयोग गर्ने कसैले उन्मुक्ति पाउँदैन। उन्मुक्ति दिने कुरै छैन।’

उनीहरूबीच करिब आधा घण्टा जति कुराकानी भएको स्रोतको भनाइ छ।

बालेनले जेनजी आन्दोलनमा समर्थन र सहजीकरण गरेका थिए। भदौ २४ गतेको विध्वंशपछि बालेनले नै प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटेका थिए। त्यसपछि उनले अब जेनजीले सेनासँग वार्ता गर्नुपर्ने, अन्तरिम सरकार बनाउनुपर्ने र त्यसअघि संसद विघटन हुनुपर्ने धारणा सार्वजनिक गरेका थिए। नभन्दै वार्ताको सहजीकरण सेनाले नै गरेको थियो।

बालेनको समेत समर्थनमा पूर्वप्रधानन्यायाधीश कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी हुन्। जेनजी आन्दोलनमा भएको दमन र विध्वंशका बारेमा छानबिन गर्न सरकारले गत शुक्रबार पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा न्यायिक जाँचबुझ आयोग गठन गरेको छ। तर, उक्त आयोगले अहिलेसम्म पनि कार्यभार सम्हाल्न सकिरहेको छैन।

गृह मन्त्रालयको कर्मचारीतन्त्रले अहिलेसम्म पनि कार्कीको शपथ र कार्यालय व्यवस्थापनका विषयमा कुनै पहल गरेको छैन। जेनजी आन्दोलनमा प्रहरीले गोली चलाउँदा पहिलो दिन नै १९ जनाको ज्यान गएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार