पोखरा ७ असोज २०८२ ।
सुख्खा पहिरोले अवरुद्ध बनेको मुग्लिन-नागढुङ्गा दुईतर्फी खुलेको छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० जवाङखोला (बाँदरे मोड)स्थित जवाङखोलामा रहेको सुख्खा पहिरो पन्छाएपछि नागढुंगा-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको हो।
मंगलबार बिहान करिब ५:४० बजेको समयमा खसेको सुक्खा पहिरोका कारण नागढुंगा-मुग्लिन सडक अवरुद्ध हुँदा सवारीसाधनको लामो जाम लागेको थियो । जामका कारण यात्रुहरू अलपत्र परेका थिए ।
झन्डै १० घण्टा समय लगाएर पहिरो पन्छाएपछि अहिले सडक दुईतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिए ।
ठूलो सुक्खा पहिरो पन्छाउन धेरै समय लाग्ने भएपछि काठमाडौंबाट बाहिरिने र काठमाडौं आउनका लागि सडक विभागले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको थियो ।