पोखरा, ३ असोज २०८२।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता हरिप्रसाद कँडेल पुर्पक्षका लागि जेल चलान भएका छन्।
रुपन्देही जिल्ला अदालतका न्यायाधिश डिल्लीराम अर्यालको इजलाशको आदेश बमोजिम रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक समेत रहेका कँडेल पुर्पक्षमा रहने गरी जेल चलान भएका हुन्।
उनी गत साउन ३० गते बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथ परिसरबाट विभिन्न विश्वविद्यालयका नक्कली शैक्षिक प्रमाणपत्रसहित पक्राउ परेका थिए। प्रहरीले उनीसंगै भारतको कानपुर निवासी २५ वर्षीय अभिषेक यादवलाई पक्राउ गरेको थियो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनीहरुबिरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धि प्रकरणमा पक्राउ गरी आबश्यक अनुसन्धान गरेर दिएको अनुसन्धान प्रतिबेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले भदौ ४ गते जिल्ला अदालतमा पेश गरेको थियो।
चितवनको कालिका नगरपालिका–५ पदमपुरका कँडेललाई भारतीय नागरिक यादवको बयानका आधारमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
कंडेल पक्राउ परेपछि रास्वपाले कँडेललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निलम्बन गरेको थियो।