पर्वत जिल्ला कारागारबाट बन्दी भगाएको आरोपमा कुश्माबाट १४ जना समातिए

पर्वत जिल्ला कारागारबाट बन्दी भगाएको आरोपमा कुश्माबाट १४ जना समातिए


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ३१ भाद्र २०८२
  • 4.4K
    Shares

जिल्ला प्रहरी कार्यालय पर्बत

पोखरा, ३१ भदौ २०८२ ।

देशभर जेन जी आन्दोलनका क्रममा भागेका बन्दीहरुलाई कारागारमा फर्काउने अभियान चलिरहेका बेला जिल्ला प्रहरी कार्यालय पर्बतले भने सो आन्दोलनका क्रममा बन्दी भगाउन सहयोग गर्नेहरुलाई पक्राउ गर्न शुरु गरेको छ।

आन्दोलनका क्रममा पर्वत जिल्ला कारागारबाट बन्दी भगाउन सहयोग गरेको आरोप लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्बतले १४ जनालाई पक्राउ गरेको छ र उनीहरुको नाम पनि सार्वजनिक गरेको छ।

कारागारमा रहेका कैदीबन्दीलाई हुलहुज्वत गरेर भगाएको भन्दै पर्बत प्रहरीले एक महिला सहित १४ जना जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिए। पक्राउ परेका मध्ये १२ जना कुश्मा नगरपालिकाका बासिन्दा रहेका छन् भने एक जना बिहादी गाउपालिकाका र अर्का एक चितवनका रहेको प्रहरीले जानकारी दिएको छ।
पर्बत कारागारबाट बन्दी भगाउन सहयोग गरेको आरोपमा पर्वतबाट पक्राउ परेका अभियुक्तहरु
प्रहरीले नियन्त्रणमा रहेका सवैलाई हिरासतमा राखि कारागार ऐन २०७९ को थुनुवालाई भगाउने वा भगाउन सहयोग गर्ने उद्दोग अन्तर्गत अनुसन्धान अघि बढाइएको जनाएको छ । प्रहरीले यी मध्ये केही युवाहरुलाई सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरेको आरोपमा समेत पक्राउ गरेको छ ।

पर्वत जिल्ला कारागारबाट २५ गते राति १९ जना कैदीबन्दी फरार भएका थिए । पर्वत प्रहरीले पर्वत कारागारबाट फरार रहेका कैदी बन्दी मध्ये पांच जना र कास्की कारागारबाट फरार भएका पांच गरी १० जनालाई नियन्त्रणमा लिई पुन: कारागार चलान गरेको छ ।

प्रहरी निरीक्षक सापकोटाका अनुसार पर्वत जिल्ला कारागारबाट फरार भएका कैदीबन्दीलाई तुरुन्त जिल्ला प्रहरी कार्यालयमा उपस्थित भई आत्मसमर्पण गर्न समेत अनुरोध गरेको छ ।

प्रहरीले यसरी फरार रहेका ब्यक्तिहरू कहीकतै देखेको अबस्थामा प्रहरीलाई खबर गरेर सहयोग गर्न समेत सर्बसाधरण समक्ष अनुरोध गरेको छ । हालसम्म १० जना कैदी बन्दी अझै पनि फरार रहेको प्रहरी नायव उपरिक्षक रबिन विष्टले जानकारी दिए ।

प्रतिक्रिया