पोखरा, ३० भदौ २०८२।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त तीन मन्त्रीले आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र गृहका साथै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओम प्रकाश अर्याललाई शपथ गराएका हुन् ।

पूर्वसचिव समेत रहेका खनालले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका मौका पाएका हुन् । त्यस्तै, नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई भौतिक योजना तथा यातायात र शहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ ।
अधिवक्ता र जेनजी आन्दोलनका सहजकर्ता रहेका अर्यालले भने गृह र कानुन मन्त्रालय सम्हाल्ने अवसर पाएका हुन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत नेपाल सरकारका विशिष्ट अधिकारीहरूको उपस्थिति रहेको थियो । तर सभामुख देवराज घिमिरे भने जेन–जी आन्दोलनपछि दुई सार्वजनिक समारोहमा देखा परेनन् । दुई दिनअघिको प्रधानमन्त्रीको शपथग्रहण र सोमबारको मन्त्रीहरूको शपथमा उनी अनुपस्थित रहे ।
उपसभामुख इन्दिरा राना पनि दुवै समारोहमा अनुपस्थित रहिन् । प्रतिनिधिसभा विघटन भएपनि सभामुखको पद यथावत रहन्छ । प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारहरुको मनोनयनको दिन मात्रै सभामुखको पद रिक्त भएको मानिन्छ । उपसभामुखको पदीय हैसियत पनि सभामुखको सरह हुन्छ ।