जिल्ला प्रशासन कार्यालय कास्कीले माग्यो, भौतिक संरचना मर्मतसम्भारमा सहयोग

जिल्ला प्रशासन कार्यालय कास्कीले माग्यो, भौतिक संरचना मर्मतसम्भारमा सहयोग


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २९ भाद्र २०८२
  • 5.1K
    Shares

पोखरा, २९ भदौ २०८२।

जिल्ला प्रशासन कार्यालय कास्कीले जेन जी आन्दोलनका क्रममा उक्त कार्यालय ध्वस्त भएको जानकारी दिंदै कार्यालयको भौतिक संरचना मर्मतसम्भारमा सहयोग र सहजीकरण गरिदिन आग्रह गरेको छ।

शनिबार एक प्रेस बिज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले जेन जीले गरेको आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी एवं लुटपाटबाट कार्यालयमा ठूलो क्षति पुगेको, कार्यालयको भौतिक संरचना कुरूप भएको, फर्निचर तथा कम्प्युटर लगायतका महत्वपूर्ण उपकरणहरू जलेका र लुटपाट भएका जानकारी दिएको छ। त्यस्तै सोही क्रममा नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, नाबालक परिचयपत्र, संस्था दर्ता, स्थानीय प्रशासन तथा शान्ति सुरक्षा लगायतका सेवा सम्बन्धी सम्पूर्ण अभिलेखहरू पनि जलि नष्ट भएकाले यसबाट कास्कीमा रहेका सेवाग्राहीलाई ठूलो मर्का परेको पनि उक्त बिज्ञप्तिमा उल्लेख छ ।

यस्तो अवस्थामा सार्वजनिक सेवामा खटिँदै आएका कर्मचारी र कार्यालयप्रति भएको प्रहार र विषम परिस्थितिका वावजुत पनि धैर्यता र संयमता नगुमाई सार्वजनिक सेवालाई शिघ्र रूपमा सुचारू गर्न कार्यालयमा कार्यरत कर्मचारीहरूले नै शुक्रबारदेखि सरसफाईको सुरूवात गरेको जिल्ला प्रशासन कार्यालय कास्कीले जानकारी दिएको छ ।

विद्युत, ईन्टरनेट, उपकरण जडान, भौतिक संरचना मर्मतसम्भार लगायतका कार्यहरू क्रमिक रूपमा जडान गरिने जानकारी दिंदै जिल्ला प्रशासन कार्यालय कास्कीले सार्वजनिक सेवा प्राप्तिमा धैर्य गरिदिनुहुन र यस विषम परिस्थितिमा आवश्यक सहयोग, समन्वय तथा सहजीकरण गरिदिनुहुन सरोकारवालासंग अनुरोध गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार