पोखरा, २८ भदौ २०८२।
सामाजिक सञ्जालमा अहिले एउटा ज्यान मुद्दाको जाहेरी भाइरल बनिरहेको छ । त्यसमा कपिलवस्तुका कांग्रेस नेता अभिषेकप्रताप साहले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध ज्यान मुद्दामा जाहेरी लेखेको देखिन्छ । प्रहरीको नयाँ बानेश्वर वृत्तलाई सम्बोधन गरिएको छ ।
गत भदौ २३ गतेको जेनजी आन्दोलनमा प्रहरीको गोली लागि मृत्यु भएको घटनासँग जोडेर तत्कालीन प्रधानमन्त्री ओलीविरुद्ध यो जाहेरी लेखिएको हो ।
तर उक्त जाहेरी आफू कार्यरत प्रहरी वृत्तमा दर्ता नभएको महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका डीएसपी हरि खतिवडाले जानकारी दिए । उनको जवाफ छ, ‘हाम्रो कार्यालय नै छैन, कहाँ दर्ता गर्नु ? जाहेरी आएको पनि छैन ।’
कांग्रेस नेता साहले जाहेरी आफैँले लेखेको, तर बुझाउने ठाउँ नपाएको बताए । उनले आफुले उक्त जाहेरी जिल्ला प्रहरी परिसर भद्रकालीको इमेल आइडीमा मेल गरेको जानकारी दिए।
उनले जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमार्फत नेपाल सरकार, गृह मन्त्रालयले पाउने गरी पनि पठाएको बताए । ‘मैले होस् हवास र सुझबुझयुक्त रूपमै जाहेरी दिएको हो’, उनले भने ।
अभिषेकप्रताप कांग्रेसका निवर्तमान सांसद हुन् । उनले २०६४ मा तत्कालीन मधेसी जनअधिकार फोरमबाट कपिलवस्तु ३ मा चुनाव जितेका थिए । ०७० सालको चुनावमा पनि फोरमबाटै जिते । २०७४ सालमा भने कांग्रेस प्रवेश गरेर फेरि त्यही क्षेत्रबाट जिते । तर, ०७९ को चुनावमा भने एमालेसँग हारेका थिए ।
समरण रहोस, हाम्रो असावधानीकाकारण यस जनसञ्चार डट कमले यसभन्दा अघि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध कांग्रेसका पूर्व सासंद अभिषेक प्रसाद साहले महानगरीय प्रहरी वृत्त बानेश्वरमा जाहेरी दर्ता गरेका थियौं। तर अहिले साहले जिल्ला प्रहरी परिसर काठमाण्डौको आधिकारिक इमेलमा उक्त जाहेरी पठाएको जानकारी दिएको अवस्थामा त्यस बारे परिसरले केही बोलेको छैन। तसर्थ हामी गलत समाचार प्रकाशित भएकोमा क्षमा माग्दै समाचार पुन: सम्पादन गरेर सच्याई प्रकाशित गरेका छौं। – सम्पादक