पोखरा, २८ भदौ २०८२।
नेपालमा पूर्व प्रधानन्यायाधिश सुशिला कार्की प्रधानमन्त्री नियुक्त भएकोमा सन्त = युक्त राष्ट्र संघ , बेलायत र भारतले स्वागत गरेका छन्।
नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हाना सिंगर हम्डीले नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै शुभकामना सन्देश दिएकी छन् ।
संयुक्त राष्ट्रसंघ नेपालद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री नियुक्तिमा नेपाली जनतालाई बधाई दिँदै राष्ट्रसंघले शान्ति, न्याय, पारदर्शिता, जवाफदेहिता र प्रगतिप्रतिको जनअपेक्षामा साथ दिने प्रतिबद्धता जनाएको छ ।‘यो महत्वपूर्ण मोडमा संयुक्त राष्ट्रसंघ नेपाली जनताको शान्ति, न्याय, पारदर्शीता, जवाफदेहिता र प्रगतिप्रतिको आकांक्षामा साथ दिन प्रतिबद्ध छ,’ संयोजक हम्डीले उल्लेख गरेकी छन् ।
सन्देशमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोक सिग्देल, र नयाँ पुस्ताका युवा नेताहरूको योगदानको पनि उच्च मूल्यांकन गरिएको छ । साथै, परिवर्तनको क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।
प्रधानमन्त्री कार्कीलाई ‘देशको संवेदनशील अवस्थामा यो महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ, उहाँलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं,’ भन्दै शुभेच्छा व्यक्त गरिएको छ ।
संयुक्त राष्ट्रसंघले नेपालको स्थायित्व, मानव अधिकार र दिगो विकासको यात्रामा सरकारसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता दोहोर्याएको छ ।
यस्तै संयुक्त अधिराज्य बेलायतले नेपालमा गत हप्ताको घटनाक्रमपछि सुशिला कार्की प्रधानमन्त्री पदमा नियुक्त भएको बिषय महत्वपूर्ण कदम भनी उल्लेख गरेको छ ।
पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै यहाँस्थित बेलायती दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत सो प्रतिक्रिया दिएको हो ।
बेलायतले सबैभन्दा पुरानो मित्रको रूपमा आगामी चुनौतीहरूलाई स्वीकार गर्दै जवाफदेहीता र समावेशी शासनका लागि नेपाली आकाङ्क्षालाई समर्थन गर्ने जनाएको छ ।
नेपालमा नयाँ अन्तरिम सरकार गठन भएकोमा भारतले स्वागत गरेको छ। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारलाई भारतले नेपालको शान्ति र स्थायित्वलाई सुदृढ पार्ने सकारात्मक कदमका रूपमा लिएको जनाएको छ।
भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निकटतम छिमेकी, साझा लोकतन्त्र र दीर्घकालीन विकास साझेदारको रूपमा भारत नेपालसँग दुवै देश र जनताको समृद्धि र हितका लागि नजिकबाट सहकार्य गर्न प्रतिबद्ध छ।’