पोखरा, ९ साउन २०८२।
पोखरा, ९ साउन २०८२।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ लाई लमजुङको मस्र्याङ्दी गाउँपालिकाले सम्मान गरेको छ ।
गाउँपालिकाले बिहीबार एक कार्यक्रम गर्दै साम्बालाई सम्मान गरेको हो । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्ष जुनामाया थापा र प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाईंले फूलमाला, दोसल्लासहित सम्मानपत्रले सम्मान गरेका हुन ।
साम्बाले गाउँपालिका अध्यक्षलाई आफुले लगाउने जर्सी उपहार दिएकी थिइन् । साम्बालाई मस्र्याङ्दी गाउँपालिका युवा तथा खेलकुद विकास समिति, अमर माध्यमिक विद्यालयले पनि सम्मान गरेका थिए ।
मस्र्याङ्दी गाउँपालिका ९, सिम्पानी पामचोकमा जन्मिएकी साम्बासँग भारतदेखि युरोपका विभिन्न लिग खेलेको अनुभव छ । उक्त अवसरमा आयोजित मस्र्याङ्दी गाउँपालिकाभित्र रहेका यू–१९ खेलाडी र विद्यार्थीसँग साक्षात्कार गर्दै साम्बाले अनुशासन, लगनशीलता र अठोटले मानिसलाई सफलतापूर्वक उन्मुख गराउने बताइन् ।
साम्बा हालैमात्र न्युजिल्यान्डको वेलिंगटन फिनिक्स फुटबल क्लबसँग अनुबन्धित भएकी छन् । अस्ट्रेलियाको ए–लिग महिला फुटबलको नयाँ सिजनका लागि क्लबले उनलाई अनुबन्ध गरेको हो ।
यसअघि उनले फ्रान्सको एन अभान्ट ग्वेंगाम्प क्लबबाट खेलेकी थिइन् । उक्त क्लबसँगको यात्रा विट मार्दै उनी २ महिनाअघि नेपाल फर्केकी थिइन् ।
उनले इजरायल, भारत, माल्दिभ्स लगायतका देशमा विभिन्न लिगमा सहभागी भइ नेपालको प्रतिनिधित्व गरिसकेकी छन् । नेपाली महिला फुटबलको इतिहासमै सर्वाधिक गोलकर्तामध्ये एक सावित्राको योगदानले देशकै खेलकुद क्षेत्रमा प्रेरणा प्रदान गरेको गाउँपालिका अध्यक्ष गुरुङले बताए ।