गण्डकी मेडिकल कलेजमा ठूलो अनियमितता, खानामा साङ्ला, मेस बहिष्कार

गण्डकी मेडिकल कलेजमा ठूलो अनियमितता, खानामा साङ्ला, मेस बहिष्कार


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २३ जेष्ठ २०७३
  • 13.3K
    Shares

डाक्टर उत्पादन गर्ने गण्डकी मेडिकल कलेज आफै विभिन्न रोगको संक्रमणबाट गुज्रिदै आएको छ । कहिले त्रिविवि परीक्षा नै नदिएका विद्यार्थीलाई महङ्गो शुल्क लिएर भर्ना गर्ने त कहिले सिट थप कायम गर्न भ्रष्टाचार गर्ने मुद्दामा अख्तियारद्वारा अनुसन्धानको दायरामा पर्नेसम्मका विवादमा मुछिदै आएको गण्डकी मेडिकल कलेज विवादको अर्को उपमा बनेको छ ।

पैसा कमाउन जस्तो सुकै तिकडम गर्न खप्पिस पात्र खुमाप्रसाद अर्यालद्वारा सञ्चालित गण्डकी मेडिकल कलेजले गत वर्ष मोरङकी जेनिता राईसँग ४८ लाख रुपैयाँ लिएर भर्ना गरेको थियो । तर, ३ हप्ता पढाएपछि त्रिविवले छानविन सुरु गरेपछि निष्कासन गरेको थियो ।

विद्यार्थीसँग मोटो रकम लिएर जे पनि गर्न सकिन्छ भन्ने सोच असफल भएपछि क्षतिपूर्ति सहित विद्यार्थीको रकम फिर्ता गर्न बाध्य भएको गण्डकी मेडिकल कलेज उक्त प्रकरणमा विद्यार्थीलाई दिएको फर्जी बिल प्रकरणमा आन्तरिक राजस्व विभागबाट छानबिन भई रहेको बताइएको छ । त्यस्तै केही दिन अगाडी अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय काठमाडौंबाट विद्यार्थीको सिट बृद्धि कायम गराइएको सम्बन्धमा अनियमितता गरि भ्रस्टाचार गरेको विषयमा कलेजका सञ्चालक अर्याल सहित नियमक निकायका अधिकारी समेतलाई छानबिनको दायरामा दर्ज गरेर मुद्दा दर्ता प्रकृयालाई तिव्रता दिएको अवस्था ताजै छ । गण्डकी शिक्षण अस्पतालमा बेलाबेलामा भइरहने लापरबाहीका श्रृखलाहरुबाट सँयौं विरामी र आफन्तहरुले पाएको हैरानी र सास्तीको मूल्य तिनले तिरेको क्षतिपूर्तिबाट असुल हुन सक्ने अवस्था नै छैन । तात्कालिन सरकारले गण्डकी मेडिकल कलेजको सञ्चालन अनुमती (सम्बन्धन) दिने बेलाबाटै सुरु भएको मोलाहिजा र अनियमितताको असर श्रृंखलावद्व रुपमा परिनै रहेको छ ।

कलेज होस्टेलमा पनि भाँडभैलो गण्डकी मेडिकल कलेजको व्यवस्थापकीय कमजोरी कति छ भन्ने कुरा उसकै होस्टललाई नियाले पनि काफी छ । गण्डकी मेडिकल कलेजले आफ्नो एमविविएस पढाउने विद्यार्थीहरुलाई राखेको होस्टेलमा समेत लापरबाहीको हद भेटिएको छ । होस्टेलको मेसमा बनाएको खानामा साङला फेला परेपछि त्यँहा अध्ययनरत विद्यार्थीहरुले मेसको खाना बहिस्कार गरेका छन् ।

जेष्ठ ७ गते शुक्रबारबाट गण्डकी मेडिकल कलेजको होस्टल नागढुङ्गा (साबिक कृष्टल होटल) मा बसेका विद्यार्थीहरुले उक्त मेस बहिष्कार गर्दै आएका छन् । कलेज होस्टेलले युवराज लामिछानेलाई होस्टेल सञ्चालन गर्ने ठेक्का दिएको थियो । मेसमा लापरबाही र फोहोरमैलाका कारण अस्वस्थ खाना खानु परेको भन्दै मेस सञ्चालक फेरेर उचित व्यवस्थापनको माग राखेर खाना बहिष्कार गरेको बताइएको छ ।

कलेजको होस्टेल मेसबाट पिडित विद्यार्थीहरु विगत १० दिन देखि खाजा नास्ता र खाना खानको लागि खोजतलासको लागि बजार बजार चाहार्नु परेको छ । निरन्तर पढिरहनुपर्ने र घर टाढा भएका विद्यार्थीहरुले बढी समस्या झेल्नु परिरहेको दोस्रो वर्षमा अध्ययनरत एक विद्यार्थीले आफ्नो नाम गोप्य राख्ने सर्तमा बताए । यति धेरै बेथिति र लापरबाही हुँदा पनि कलेज प्रशासन मौनता साधेर बसिरहेको छ । कलेजले विद्यार्थीसँग कोठा भाडा बापत ६ हजार ८ सय र खाना बापत ६ हजार ५ सय मासिक असुल गर्दै आएको होष्टेल स्रोतले बतायो । यस बारेमा कलेजका प्रिन्सिपल रविन्द्र श्रेष्ठले नयाँ मेस सञ्चालक खोजी भइरहेको बताए । एक दुई दिन भित्रै मेस सञ्चालनको जिम्मा नयाँ व्यक्तिलाई दिन पहल भइरहेको बताए ।

गण्डकी मेडिकल कलेजको चार ठाउँमा रहेको होस्टेलमा गरि झण्डै ४ सय विद्यार्थीलाई खाना खाजा खुवाउने मेस सञ्चालनमा टेण्डर कोटेशन केहि नगरी व्यक्तिगत पहुँचको भरमा ठेक्का दिइदै आएको पाइएको छ । सार्वजनिक जानकारी नै नगराई व्यक्तिगत छनोटको भरमा मेस सञ्चालक ल्याइने हुँदा अझै पनि खानाको गुणस्तरीयता आउनेमा ढुक्क हुन सक्ने अवस्था नरहेको स्रोतले दाबी गरेको छ । मेस सञ्चालकको विकल्प दिने विषयमा भएको ढिलाइको सम्बन्धमा ध्यानाकर्षण गराउँदा विद्यार्थीहरुले पुरानो सञ्चालकलाई तिर्नुपर्ने बिल भुक्तानीमा ढिलाई भएकोले नयाँ सञ्चालक नियुक्त गर्न नसकिएको प्रिन्सिपल रविन्द्र श्रेष्ठले बताए । करोडौं रुपैयाँको लगानीमा सञ्चालित गण्डकी मेडिकल कलेजले विद्यार्थीप्रति गरेको लापरबाही र हेलचेक्रयाईको विषयमा गम्भिर ढंगले सोचेर अनुगमन गरिनुपर्ने आवाज पनि उठेको छ ।

लाखौं रुपैयाँ खर्च गरेर चिकित्सक बन्ने अध्ययनमा लागेकाहरुप्रति यस्तो व्यवहार गरिन्छ भने अन्यत्रको अवस्था कस्तो होला । चिकित्सा विषय पढ्ने विद्यार्थीहरुबाटै यस खाले गल्ती, कमजोरी र लापरबाही अन्त्यको लागि सचेत भएर खबरदारी गर्नु जरुरी छ । गल्ती गर्दा गर्दै पाठ सिक्नुपर्ने गण्डकी मेडिकल कलेजले दिनानुदिन थप गल्ती गर्दै गएको छ । चिकित्सा शास्त्र पढाउने कलेजले गर्ने हरेक गतिविधि देश र जनतासँग जोडिएको विषय हुने भएकोले पारदर्शीतापूर्ण काम हुनुपर्ने औल्याएको छ ।

प्रतिक्रिया