मोन्टी देसाईसँगको सम्झौता नवीकरण नगर्ने क्यानको निर्णय

मोन्टी देसाईसँगको सम्झौता नवीकरण नगर्ने क्यानको निर्णय


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २० माघ २०८१
  • 6.5K
    Shares

पोखरा , २० माघ २०८१।

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईसँगको सम्झौता नवीकरण नगर्ने भएको छ। क्यानले सामाजिक सञ्जालमार्फत शनिबार मोन्टी देसाईले नेपाली क्रिकेटमा पुर्‍याएको योगदानप्रति धन्यवाद ज्ञापन गरेको छ।

क्यानका प्रवक्ता छुम्बी लामाले मुख्य प्रशिक्षक मोन्टीसँगको सम्झौताको दुई वर्ष समाप्त भएको र क्यानले उनीसँगको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको जानकारी दिए।

लामाले नयाँ प्रशिक्षक नियुक्तिको प्रक्रिया यथाशीघ्र थाल्ने पनि जानकारी दिए। तत्काल नेपाली राष्ट्रिय पुरूष टिमले कुनै खेलमा सहभागी हुने तय नभएकाले पनि नयाँ प्रशिक्षक नियुक्ती प्रक्रिया अगाडि बढाउन समय रहेको उनले बताए।

मोन्टी गत वर्षको माघमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए। देसाईले सन् २०१७ मा नेपाली यू१९ टिमसँग ब्याटिङ सल्लाहकारका रूपमा पनि काम गरेका थिए। उनी वेस्ट इन्डिजको पूर्व ब्याटिङ प्रशिक्षक पनि थिए। सन् २००८ देखि २०१५ सम्म आइपिएलमा राजस्थान रोयल्सको साहयक प्रशिक्षकको रुपमा काम गरेका थिए।

देसाई मुख्य प्रशिक्षक भएयता नेपालले एकदिवसीय मान्यता जोगायो। आइसिसी विश्वकप लिग-टु का पछिल्ला १२ मध्ये ११ खेल जित्दै सनसनी मच्चायो। प्रशिक्षक नियुक्ति भएको दुई महिनामै मोन्टीको नेतृत्वमा नेपाली क्रिकेटको साख फर्कियो। कठिन मानिएका १२ मध्ये ११ खेल जितेपछि नेपालको एकदिवसीय मान्यता चार वर्षका लागि जोगिएको थियो।

लिग-टुमा उत्कृष्ट खेलपछि नेपालले सन् २०२३ को एसिसी प्रिमियर कपमा पनि उत्कृष्ट प्रदर्शन गर्‍यो। नेपालमै आयोजनामा भएको प्रिमियर कप च्याम्पियन बन्यो। प्रिमियर कपको उपाधिसँगै नेपालले एसिया कपमा छनोट भयो। एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गरेको थियो।

गत वर्ष नेपालले मोन्टीकै नेतृत्वमा अर्को उपलब्धि हासिल गर्‍यो। छनोट पार गर्दै नेपालले दोस्रो पटक टी-२० विश्वकपमा स्थान पक्का गर्‍यो। घरेलु मैदानमा भएको छनोट पार्दै नेपाल सन् २०२४ को आइसिसी टी-२० विश्वकपमा छनोट भयो।

गत जुनमा अमेरिका र वेस्ट इन्डिजमा भएको आइसिसी टी-२० विश्वकपमा नेपालले अद्भूत खेल देखायो। नेपालले दक्षिण अफ्रिका र बंगलादेशलाई समूहमा चरणमा कडा टक्कर दिएको थियो। तर दुवै खेलमा अन्तिममा चुक्दा नेपाल जित निकाल्न असफल भयो।

मोन्टीको नेतृत्वमा नेपालले पछिल्ला प्रतियोगितामा भने खराब प्रदर्शन गरिरहेको छ। सन् २०२४ मा खेलिएका लिग-टुका १२ एकदिवसीय खेलमध्ये नेपाल २ खेलमा मात्र विजयी भएको छ। आठ खेलमा नेपालले पराजय भोग्दा २ खेल वर्षाले रद्द भए। लिग-टुको यो संस्करणमा नेपाल पहिलो वर्षको अंक तालिकामा पुछारबाट दोस्रो अर्थात् सातौं स्थानमा छ। त्यसैले लिग-टु मा नेपाललाई चुनौती थपिएको छ।

टी-२० फर्म्याटमा पनि नेपालको प्रदर्शन राम्रो हुन सकेको छैन। सन् २०२४ को एसिसी प्रिमियर कपमा नेपालले खराब प्रदर्शन गर्‍यो। सेमिफाइनलमा युएईसँग पराजित हुँदा नेपाल एसिया कपमा पुग्न सकेन। यति मात्र होइन तेस्रो स्थानको खेलमा हङकङसँग हार्दा नेपालले इमर्जिङ एसिया कप समेत गुमायो।

यस्तोमा नेपाल क्रिकेट संघ (क्यान) ले देसाईको विकल्प खोज्न लागेको हो।

प्रतिक्रिया