पोखरा,१६ पुष मंसीर २०८१।
महोत्तरीको खैरमारास्थित निर्मल लामा बहु प्राविधिक शिक्षालयमा अध्ययनरत तीन किशोरीले एकै साथ विष सेवन गरेका छन्। बर्दिबास नगरपालिका–१० निर्मल लामा बहु प्राविधिक शिक्षालयको जियोमेट्रिक इन्जिनियर प्रथम वर्षमा अध्ययनरत तीन छात्राले परीक्षा बिग्रिएपछि एकै साथ विष सेवन गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार, विष सेवन गर्ने मध्ये दुई जना जंगल क्षेत्रमा अचेत अवस्थामा फेला परेका छन् । एक जना फेला परेकी छैनन् ।
परीक्षा बिग्रिएपछि तीनै जना साथीहरू एकै साथ विष सेवन गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले बताए । उनले भने, ‘फेला परेका दुई जनाको अवस्था सामान्य छ, दुवै जनालाई बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा राखिएको छ । तीन जना मध्ये बढी मात्रामा विष सेवन गर्ने छात्राको खोजी भइरहेको छ ।’