पोखरा,३० मंसीर २०८१।
आफुलाई नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय पोखराको कर्मचारी बताउने पोखराका एक युवा लमजुङमा नक्कली सरकारी कागजपत्रसहित पक्राउ परेका छन्।
आफुलाई नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय पोखराको कर्मचारी बताउने पोखरा महानगरपालिका २६ लेखनाथ बस्ने वर्ष २४ का अमृत कुमाल लमजुङमा नक्कली सरकारी कागजपत्रसहित पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय लमजुङबाट असई कृष्ण विश्वकर्माको कमाण्डमा खटिएको प्रहरी टोलीले अभियुक्त कुमाललाई गत बिहीबार दिउँसो १ बजेतिर बेंसीसहर नगरपालिका ८, बेंसीसहरबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। अभियुक्त कुमालको साथबाट सरकारी नक्कली लिखत कागजातहरु तथा स्ट्याम प्याडहरुबरामद भएको प्रहरीले जिकिर गरेको छ।
लमजुङको क्व्होलासोथार गाउँपालिका ८, घाम्राङमा बिहीबार बिहान ८ बजेतिर आफू नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालयको कर्मचारी भएको दाबी गर्दै अभियुक्त कुमालले नेपाल बिद्युत प्राधिकरणको छाप, नगदी रसिद समेत देखाएर आफु बिजुलीको मिटर धरौटीबापतको रकम जम्मा गर्न आएको र स्थानीयहरूले सोधपुछ गर्न थालेपछि फरार भएको जिल्ला प्रहरी प्रमुख डीएसपी निशान्त श्रीवास्तवले बताए ।
कुमाललाई लमजुङ जिल्ला अदालतबाट शुक्रबार दिन ७ को म्याद थप गरी लिखत सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।