पोखरा, १३ मंसीर २०८१।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीसमक्ष तनहुँको डुम्रेस्थित यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख गोपाल ओलीले आफ्नो कार्यालयमा कर्मचारी अभाव रहेको गुनासो गरेका छन्।
कार्यालयको निरीक्षण गर्न बिहिबार डुम्रेस्थित यातायात व्यवस्था कार्यालय पुगेका प्रदेश मन्त्रि केसीसमक्ष निमित्त कार्यालय प्रमुख ओलीले त्यस्तो गुनासो गरेका हुन्।
त्यस अवसरमा निमित्त प्रमुख ओलीले कर्मचारी अभाव भएकाले निकै प्रेसरमा काम गर्नुपरेको गुनासो गरे । ट्रायल सेन्टर बनाउन डुम्रे बजार नजिकै पांच रोपनी व्यक्तिगत जग्गा दिन स्थानीय तयार रहेको पनि जानकारी गराए । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्म पांच करोड १२ लाख रुपैयाँ राजस्व संकलन भएको उनले बताए ।
निमित्त कार्यालय प्रमुख ओलीको गुनासो सुनेपछि प्रदेश मन्त्री केसीले ट्रायल परीक्षामा कुनै अनियमित गतिविधि हुन नदिन चनाखो रहन निर्देशन दिदै व्यक्तिले दान गर्ने भनेको जग्गाबारे राम्रोसँग बुझ्नुपर्ने बताए । उनले अघि थपे , `जग्गा दान गर्नेको केही स्वार्थ छ वा केही छैन भने बुझ्नू । राज्यलाई हानी हुने कुनै स्वार्थ देखिए त्यो छोड्दिनू। त्यस्तो केही नभए जग्गा कसरी प्रदेश सरकारको नाममा ल्याउने भन्ने काममा लाग्नू ।´
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिव कमलकुमार अधिकारी, योजना अनुगमन मूल्यांकन तथा पूर्वाधार महाशाखा प्रमुख डा. महेन्द्र बानियासहितको टोली लिएर कार्यालय निरिक्षणमा निस्किएका प्रदेश मन्त्री केसीले बिहिबार नै तनहुँस्थित पूर्वाधार विकास कार्यालयको निरीक्षण गरेका थिए।