पोखरा, १३ मंसीर २०८१।
मकवानपुरमा गएराती एक मजदुरले आफुसंग संगै सुतेका साथीको हत्या गरॆका छन्। जिल्लाको मनहरी गाउँपालिका-६ प्रतापुर लच्का घर भएका अम्मरबहादुर लोप्चनले ५० वर्षीय जीतबहादुर मोक्तानलाई गएराती साढे एक बजे आफ्नै घरमा सुतिरहेका बेला साबेलले हिर्काएर हत्या गरेका हुन् ।
टाउको र खुट्टामा चोट लागेर गम्भीर घाइते भएका जीतबहादुर मोक्तानको उपचारको क्रममा भरतपुर अस्पताल चितवनमा आज बिहान साढे ३ बजे मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
डिएसपी अर्यालका अनुसार , मोक्तान र लोप्चनसँगसँगै निर्माण क्षेत्रमा मजदुरी गर्दै हिंड्ने गर्थे र उनीहरू दुवै जना प्रायजसो लोप्चनको घरमा सुत्ने गर्दै आएका थिए ।
लोप्चनलाई प्रहरीले सावेलसहित नियन्त्रणमा लिएको छ । उनले सुतिरेका मोक्तानमाथि एक्कासी साबेल किन प्रहार गरे भन्ने विषयमा अनुसन्धान भइरहेको डिएसपी अर्यालले जानकारी दिए ।