पोखरा, १० मंसीर २०८१।
सङ्खुवासभाको धर्मदेवी नगरपालिका ३ ओख्रेका युवराज गुरुङ श्रीमती टीका गुरुङको किड्नीमा समस्या भएपछि दुई साताअघि उपचारका लागि इटहरी नगरपालिका वडा नम्बर ४ मा झरेका थिए।
साग, सब्जी व्यापार गर्दै आएका बुबा हर्कधनको व्यवसायमा सहयोग गर्दै आएका युवराज पैसा उठाउन आइतबार को ३६ प ५६३७ नम्बरको बुलेट मोटरसाइकलमा श्रीमती टिकासंगै सुनसरीको इनरुवा गएका थिए ।
तर उनीहरु चढेको बुलेट मोटरसाइकललाई आइतबार दिउँसो १२ बजेतिर पूर्व–पश्चिम राजमार्ग अन्तर्गत इटहरी १७ बालग्राम चौकमा को १ क ३३८८ टिपरले ठक्करबाट मोटरसाइकलमा सवार दम्पती लडेका थिए । सोहीबेला गुडिरहेको प्रदेश १–०२–००१ ज ३८११ नम्बरको म्याजिक भ्यानले किच्दा उनीहरूको मृत्यु भयो ।
घटनामा संलग्न टिपर चालक मोरङको सुन्दरहरैँचा ३ गछियाका ३५ वर्षीय सागर मग्राती र म्याजिक भ्यान चालक इटहरी १२ खनारका ३९ वर्षीय श्याम बिकलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पकलीले घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । प्रहरीले तीनवटै सवारी साधन पनि नियन्त्रणमा लिएको छ ।
हर्कधनका तीन भाइ छोरामध्ये माइला छोरा रहेका युवराजका दम्पती नै दुर्घटनामा अस्ताएपछि गाउँबासी नै शोकमग्न रहेको कोशी प्रदेशसभाकी पूर्व सासंद पदमकुमारी गुरुङ बताउछिन। ‘यस्तो दुःखद् घटना अचानक सुन्नुप¥यो,’ उनले भनिन्, ‘परिवारले नै सब्जी व्यापार गर्दै आएको थियो । खुशी र सुखी परिवार थियो, तर सधैँका लागि आजको दिन कहालीलाग्दो भयो ।’
युवराज दम्पती इटहरीमा सानीमाकहाँ बस्दै आएका थिए । विराटनगरस्थित नोबेल हस्पिटलमा उपचार गराएपछि टीकाको स्वास्थ्यमा सुधार आएको थियो । ‘आज इनरुवाबाट पैसा उठाएर आएपछि घर आउने कुरा रहेछ,’ पदमकुमारीले प्रदेश खबरसँग भनिन्, ‘तर त्यस्तो घटनापछि भने हामी विक्षिप्त भएका छौँ ।’
उनीसहित मृतकका बुबा हर्कधन, दाजु र भाइ अहिले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आइपुगेका छन् । मृतकद्वयको शव अहिले बीपी प्रतिष्ठानको शव गृहमा राखिएको छ ।
‘अब गाडीवालासँग बसेर भोलि छलफल हुन्छ,’ पदमकुमारी भन्छिन्, ‘त्यसपछि पोस्टमार्टम गरेर मात्रै शव सङ्खुवासभा लैजाने कुरा भएको छ ।’
मृतकद्धयका दुई छोराहरू १३ वर्षीय सोनाम र ११ वर्षीय सामेल छन् । सोनाम भारतको कालेबुङमा अध्ययन गर्दै आएका छन् भने सामेल भने स्थानीय एक विद्यालयमा अध्ययन गर्दै आएका छन् ।
मिलनसार स्वभावका युवराज र टीकाको दुर्घटनामा निधन भएपछि गाउँघर नै विह्वल अवस्थामा रहेको बताइएको छ ।