पोखरा,२५ कार्तिक २०८१।
सर्लाहीस्थित इलाका प्रहरी कार्यालय हरिवनको हिरासतकक्षबाटै एक जना थुनुवा भागेका छन् .
लागुऔषध ओसारपसार मुद्दामा पक्राउ परेका अभियुक्त बरहथवा नगरपालिका–९ मूर्तियाका रामआयोधी मुखिया इलाका प्रहरी कार्यालय हरिवनको हिरासत कक्षबाटै भागेका हुन् ।
हिरासत कक्ष सरसफाइ गर्ने क्रममा दिउँसो मुखिया फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहले जानकारी दिए। उनीमाथि लागुऔषध गाँजा ओसारपसार मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको थियो ।
घटनालगत्तै इलाका प्रहरी कार्यालयबाट थुनुवा अधिकृतसहित चार जनालाई जिल्ला प्रहरी कार्यालय झिकाएर अनुसन्धान शुरु गरेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए । फरार अभियुक्त मुखियाको खोजी भइरहेको छ ।