पोखरा,२३ कार्तिक २०८१।
मकवानपुरको भीमफेदी गाउँपालिका–८ दोभानस्थित नेपाली सेनाको सडक निर्माण कार्यदल सिस्नेरी बेस क्याम्पमा कार्यरत एक जनाको करेन्ट लागेर लेसनायकको मृत्यु भएको छ। यस्तै दुईजना घाइते भएका छन्।
क्याम्पभित्र कार्यरत रहेका बेला सञ्चार उपकरणको पाइप गाड्ने क्रममा हाइटेन्सन बिजुलीको तारमा पाइपले छुँदा करेन्ट लागेर डडेल्धुराको गन्याधुरा गाउँपालिका–१ घर भएका २९ वर्षीय लेसनायक पदमबहादुर दियालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
करेन्ट लागेरै डडेल्धुराको अमरगढी नगरपालिका–२ निवासी २९ वर्षीय लेसनायक विनोद केसी र पाल्पा रामपुर नगरपालिका–६ निवासी २१ वर्षीय सिपाही युवराज कुमाल घाइते भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए।
घाइते दुवै जनालाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडाैंस्थित आर्मी अस्पताल पठाइएको र मृतकको शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज काठमाडाैं पठाइएको उनले बताए।