पोखरा,१६ कार्तिक २०८१।
शुक्ला साहित्य राष्ट्रिय पुरस्कार २०८१ बाट साहित्यकार एवं भाषाविद् मुकुन्दशरण उपाध्यायलाई प्रदान गरिएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १६ बाटुलेचौरमा रहेको शुक्ला साहित्य प्रतिष्ठानले साहित्यकार एवं भाषाविद् उपाध्यायलाई शुक्ला साहित्य राष्ट्रिय पुरस्कार २०८१ बाट सम्मानित गरिएको हो।
बिहीबार आयोजित एक समारोहकाबीच गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्ची र प्रतिष्ठानका अध्यक्ष हरिबहादुर बरुवालले उपाध्यायलाई संयुक्त रुपमा ५५ हजार पाँच सय ५५ र सम्मानपत्र प्रदान गरे ।
त्यस अवसरमा गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति विखर्चीले साहित्यमा दलगत राजनीति भित्रिएकामा चिन्ता व्यक्त गर्दै साहित्य राजनीतिभन्दा धेरै माथि रहेको बताए । साहित्य समाजको दर्पण भएको उल्लेख गर्दै उनले समाज उपयोगी साहित्य लेखनमा लाग्न सुझाव दिए ।
सम्मानित व्यक्तित्व भाषाविद् उपाध्यायले पोखराको प्राकृत साहित्यलाई बचाई राख्न नयाँ पुस्तालाई आग्रह गरे । प्रतिष्ठानका अध्यक्ष बरुवालले आफ्नै क्षेत्रका राष्ट्रिय व्यक्तित्वलाई सम्मान गर्न पाउँदा संस्थाको गरिमा बढेको धारणा राखे ।
उक्त पुरस्कारबाट यसअघि मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, डा रविलाल अधिकारी, साहित्यकार सरुभक्त, वरिष्ठ कार्टुनिष्ट दुर्गा बराल ‘वात्सायन, चेतमानसिंह भण्डारी, जनगायक जीवन शर्मा, लोकगायिका हरिदेवी कोइराला, साहित्यकार हंशपुरे सुवेदी, भाषाविद् चूडामणि बन्धु र संस्कृतिकर्मी प्रा डा जगमान गुरुङलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रतिष्ठानका संरक्षक कवि कुञ्जराज थापा, सल्लाहकार असफल गौतम, स्रष्टा छनोट समितिका संयोजक अग्निधर शर्मा, साहित्यकार गेहेन्द्रश्वर पोखरेलीलगायतले विकृत राजनीतिलाई सुधार गर्नतर्फ साहित्य केन्द्रित हुनुपर्नेमा जोड दिए ।