पोखरा,११ कार्तिक २०८१।
पोखराको सुर्यदर्शन र बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणका मुख्य आरोपी ठानिएका जीबी राई अझै बेपत्ता छन्। तर सोहि प्रकरणमा संलग्न रहेको आरोपमा पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने र पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।
गोरखा मिडिया प्रालिका पूर्वप्रबन्ध निर्देशक लामिछाने र पूर्वउपाध्यक्ष जोशीविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर प्रहरीको अपराध अन्वेषण ब्युरो(सिआईबी) बाट खटिएका डिएसपी सुन्दर तिवारी नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ।
उनीहरुविरुद्ध बुटवलको सुप्रिम सहकारी सम्बन्धि मुद्दा पनि चलिरहेको छ। पक्राउ परेका छबिलाल जोशीले बुटवल पुगेर सुप्रिम सहकारी ठगी सम्बन्धी मुद्दामा बयान दिएर पोखरा फर्किएका छन् भने रबि लामिछानेलाई पनि सुप्रिम सहकारी ठगी मुद्दामा बुटवल लगेर बयान लिने तयारी भैरहेको समाचार स्रोतहरुले जानकारी दिएका छन्।
यता आफ्नो पार्टी सभापति रबि लामिछानेलाई राजनीतिक प्रतिशोध लिएर पक्राउ गरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरु सदाका आन्दोलनमा उत्रिएका छन। त्यस्तै सहकारी पिडितहरु पनि सहकारी ठगी मुद्दामा पक्राउ परेकाहरुलाई कडाभन्दा कडा कारबाहीको माग राखेर प्रदर्शनमा उत्रिरहेका छन्।
सहकारी ठगी प्रकरणमा केही अभियुक्त पक्राउ परि अनुसन्धान भैरहेको र केही पक्राउ पर्ने क्रममा रहेको अवस्थामा सहकारी पिडितहरु स्वयमले दोषीमाथि कडा कारबाहीको माग राखेर प्रदर्शन गरिरहेकै अवस्थामा बुटवलको सुप्रिम सहकारीका पीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आन्दोलनले प्रहरी अनुसन्धान प्रभावित हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
बचत अपचलनको आरोपमा रास्वपा सभापति रवि लामिछानेमाथि अनुसन्धान अगाडि बढिरहेका बेला रास्वपाले दिनहुँ आन्दोलन गरेपछि पीडितहरूले यस्तो बताएका हुन् । आन्दोलनले कतै न्याय निरूपणमा बाधा पुग्ने त होइन भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका हुन् ।
सुप्रिम सहकारीका पीडितहरूको सङ्घर्ष समितिका अध्यक्ष विजयकुमार नेपालले निष्पक्ष न्याय सम्पादन हुनेमा आफूहरू आशावादी रहेको बताए ।
समाचार स्रोतहरुले दिएको जानकारी अनुसार , सहकारीमा मुद्दती बचतकर्ताको बढी रकम डुबेको छ । राम्रो ब्याजदर दिएपछि उनीहरूले सहकारीमा मुद्दती खाता खोली लाखौँ रकम जम्मा गरेका थिए । सो सहकारीबाट विभिन्न व्यक्तिका नाममा करोडौँ रकम ऋण लगानी भएको छ ।
प्रहरीको प्रतिवेदनमा सहकारीका संस्थापक जिबी राईदेखि गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेको नाममा पनि ऋण लगानी भएको देखिएको छ ।
सहकारीबाट आफूहरू ठगिएको भन्दै एक हजार आठ सय ३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका छन् । तिनै पीडित न्यायको माग गर्दै लामो समयदेखि सडक प्रदर्शनमा उत्रिएका छन् ।
प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा २८ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको छ । जसमा सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई पूर्वपक्षका लागि थुनामा पठाइएको छ । सचिव पुनसहितका छ जना धरौटीमा छुटेका छन् । अन्य १९ जना अहिले पनि फरार छन् । गत असोज ५ गते सहकारीपीडित नारायणबहादुर पहराईलगायतले रवि लामिछानेसहित १२ जनाविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा पूरक जाहेरी दिएका छन् । ८६ करोड १८ लाख ठगी भएको पीडितले बताए पनि प्रहरी अनुसन्धानबाट एक अर्ब दुई करोड रकम हिनामिना भएको देखिएको छ ।
त्यस्तै गोर्खा मिडियामा सहकारीबाट १४ करोड २१ लाख रुपियाँ गएको र जसमा पूर्वडिआइजी छविलाल जोशीका नाममा दुई करोड ५० लाख र रवि लामिछानेका नाममा दुई करोड गएको छानबिन समितिको प्रतिवेदनमा देखाइएको छ । रूपन्देही जिल्ला अदालतले जोशी र लामिछानेसहित १२ जनालाई सङ्गठित अपराधमा पक्राउ गर्न अनुमति दिएको छ ।