पोखरा,९ कार्तिक २०८१।
कञ्चनपुरमा एक दम्पत्तिको हत्या भएको छ। कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर १ बिनवारीका ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमलाको गएराती हत्या भएको हो।
गाउँको घरभन्दा झण्डै डेढ किलोमीटर टाढा खाजा पसल संचालन गर्दै आएको बडायक दम्पत्ति आज बिहान मृत भेटिएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार गर्मी अझै नघटेकोले उनीहरू पसलकै बाहिर बरण्डामा सुत्ने गरेका थिए। तर आज बिहान रमेशको शव आँगनमा भेटिएको र उनकी श्रीमती कमलाको शव नजिकै बरण्डामा भेटिएको डिएसपी जोशीले बताए। कमलाको शव सुत्ने ओछ्यानको नजिकै झुलमा रक्ताम्य लटपटिएको थियो।
दुवै जनाको अनुहार र टाउकोमा चोट रहेको र हत्या नै भएको घटनास्थलमा खटिएका एक प्रहरी अधिकृतले बताए।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजी रविन्द्र केसीका अनुसार बडायक दम्पतीले बिहीबार बैंकबाट पैसा निकालेका थिए। घटना शंकास्पद देखिएपछि सोही कोण अनुसार अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ । डिआइजी केसीले बैंकबाट झिकेको पैसाकै कारण घटना घटेको पनि भन्न सकिने अवस्था छैन। २ लाख ४३ हजार रुपैयाँ घरमै भेटिएको छ।
उनले घटनाको अनुसन्धानका लागि डीएसपी उमेश जोशीको कमान्डमा प्रहरी टिली र प्रदेश प्रहरीबाट तालीमप्राप्त कुकुरसहितको टोली पनि खटाइएको जानकारी दिए।
दुवै जनाको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको पनि डिआइजी केसीले जानकारी दिए। अहिले प्रहरीले घटनाको विस्तृत रुपमा अनुसन्धान थालेको छ। प्रारम्भिक रुपमा जग्गासम्बन्धि विवादका कारण घटना घटेको पनि अनुमान गरिएको छ।