पर्यटकीय गन्तब्यकाे रूपमा परिचित तनहुँकाे व्यास नगरपालिका वडा नं ५ मानुङकोट घुम्न आएका पाेखराका युवामाथी सांघातिक आक्रमण गर्ने मध्येका पांच जना पक्राउ परेका छन् ।
पाेखराका विभिन्न ठाउँबाट मानुङकोट घुम्न आएका १३ जना युवामाथि तनहुँकाे व्यास नगरपालिका स्थित बेलवास लगायतका ठाउँका युवाहरूको समुहले खुकुरी , लाठी , हेलमेटले आक्रमण गरेकाे घटनामा संलग्न पांच जना पक्राउ परेका हुन्।
सात वटा माेटरसाइकलमा १३ जना साथीहरू मिलेर शुक्रबार बिहान मानुङकोट घुम्न आएका ती युवाहरू माथि मादक पदार्थ सेवन गरेर बसेकाे एउटा समूहले बिहान पाैने छ बजे खुकुरी लगायतका धारिलो हतियार प्रहार गरेको प्रहरीले जानकारी दिएको छ। उनीहरु मध्ये केहीले लाठीले र केहीले हेलमेटले हानेर भागेका बताइएको छ।
उक्त आक्रमणमा परेर घाइते विपिन गुरूङकाे समुहलाइ खुकुरी सहितको धारिलो हतियारले घेराबन्दीमा पारेर आक्रमण गरी रगताम्मे पारेर भागेका बेलवास घर भएका दिनेश रामदाम सहित ५ जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ । दिनेश उहि दिनमा र त्यसयता एकजना बिचमा तथा ३ जना आज बिहान मात्रै पक्राउ परेका तथा अन्यको खाेजी भइरहेको बताइएको छ ।
उक्त घटनामा दुई जना गम्भीर तथा अन्य सामान्य घाइते भएका थिए । गम्भीर मध्ये दुईजनालाई टाउको लगायतका शरिरका विभिन्न भागमा चाेट लागेको थियो । यस्तै पिडित युवाहरूको नगद पैसा , घडी , माेवाइल , बेरूवा औठी , एटीएम कार्ड लगायतका सामान समेत लुटपाट भएको ती युवाहरूले बताएका थिए ।
पिडित युवाहरूले जिल्ला प्रहरी कार्यालय तनहुँमा ज्यान मार्ने उद्योग सम्बन्धि मुद्दा दायर गरेका थिए । उनिहरूले बेलवासका युवा दिनेश रामदाम लगायतको युवाहरूको समुहले आक्रमण गरेको भन्दै किटानी जाहेरी दिएका छन् ।