पोखरा,६ कार्तिक २०८१।
पर्वतकी एक महिलाको चितवनमा सुई लगाएपछि मृत्यु भएको छ। पर्वत फलेवास नगरपालिका–३ कार्की टोल घर भई हाल चितवन खैरहनी नगरपालिका–५ बुडौलीमा बस्दै आएकी ४१ वर्षीया तुलसी कार्कीको खैरहनी नगरपालिका–६ पुरानो पर्सास्थित चौधरी मेडिकलमा गएराती सुई लगाए पछि मृत्यु भएको हो।
श्वासप्रश्वास सम्बन्धि समस्या भई उपचारको लागि मेडिकल पुगेकी कार्कीको सोमवार राति साढे ८ बजे चिकित्सकले इन्जेक्सन दिएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
कार्कीले कात्तिक ३ गतेदेखि उक्त मेडिकलमा उपचार गराउँदै आएकी थिइन् ।
विरामीको मृत्यु भएपछि आफन्तहरु आक्रोशित भई मेडिकलमा तोडफोड गरेका थिए ।
आज बिहान २ बजे मृतकका आफन्त, मेडिकल पक्ष र जनप्रतिनिधि बीच छलफल पश्चात मृतकका आफन्तलाई क्षतिपुर्ती दिने सहमति भएपछि पोष्टमार्टमका लागि शवलाई भरतपुर अस्पतालको शव गृह पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।