पोखरा,४ कार्तिक २०८१।
सप्तरीमा आज एकाबिहानै बस दुर्घटनाग्रस्त हुँदा एक जना युवतीको घटनास्थलमै मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।
उदयपुरको गाईघाटबाट काकडभिट्टा जाँदै गरेको प्रदेश १–०१–००१ ख ४१२६ नम्बरको बसले कञ्चनरुप नगरपालिका–२, बरमझियामा आज विहान करिब साढे ६ बजे विपरित दिशामा जाँदै गरेको स५प१५९३ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा धनकुटाकी २१ वर्षीया मैया राईको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका २८ जनामध्ये आठ जनाको अवस्था गम्भीर छ। उनीहरुलाई उपचारका लागि विराटनगर पठाइएको छ। जसमा मोटरसाईकल चालक कञ्चनरुप–२, बरमझिया निवासी महेन्द्र पण्डितका छोरा २५ बर्षीय सुमित पण्डितसमेत छन्।
अन्य २० जनाको उपचार धमेश्वर अस्पताल रुपनगरमा भइरहेको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय कञ्चनपुर र सशस्त्र प्रहरी बल वरमझीयाको टोलीले घाईतेहरुको उद्धार गरेको छ।