पोखरा,२१ असोज २०८१।
झापाको बाह्रदशी गाउँपालिका-७ स्थित बिरिङ खोलाको किनारमा गाडिएको अवस्थामा मानव कङ्काल भेटिएको छ ।
बाह्रदशी-७ बिरिङ खोलाको पश्चिम किनारमा गडिएको अवस्थामा मानव कङ्काल भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।
उक्त कंकाल गत जेठ १५ गतेदेखि बेपत्ता रहेका बाह्रदशी-५ फूलबारीका २२ वर्षीय राजेश हजामको भएको प्रहरीले जानकारी दिएको छ । गत जेठ १५ गतेदेखि बेपत्ता राजेशको खोजीका लागि उनका बुबा भीम हजामले इलाका प्रहरी कार्यालय अनारमनीमा जेठ १८ गते निवेदन दिएका थिए ।
प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा बाह्रदशी-७ का ३१ वर्षीय समीर राजवंशी, २१ वर्षीय आशिष थापा, २० वर्षीया मुना मेचे (राजवंशी) र १६ वर्षीय नरेश राजवंशीलाई नियन्त्रणमा लिएको छ।
बिरिङ खोला किनारमा भेटिएको शव राजेशकै भएको उनका परिवारले सनाखत गरेको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।