पोखरा,१९ असोज २०८१।
संखुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दास्थित अरुण तेस्रो जलविद्युत परियोजनाका मजदुरको लडेर मृत्यु भएको छ ।
सुरुङभित्र काम गर्ने क्रममा लडेर घाइते भएका मजदुर भारतको गाँजीपुर फानाका ४५ वर्षीय श्याम सुन्दरको मृत्यु भएको संखुवासभाका प्रहरी प्रमुख डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए ।
जेपी कम्पनीको सुरुङभित्र काम गर्ने क्रममा यही असोज १३ गते राति १० बजेतिर लडेर उनी घाइते भएका थिए । गम्भीर अवस्थाका उनलाई संखुवासभामा सम्भव नभएपछि थप उपचारका लागि असोज १४ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो ।
बीपीमा पनि सम्भव नभएपछि उनलाई त्यही दिन उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल ल्याइएको थियो । उपचारका क्रममा शुक्रबार दिउँसो १ बजेतिर श्याम सुन्दरको मृत्यु भएको डीएसपी बस्नेतले बताए ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी उनले दिए ।