पोखरा,१८ असोज २०८१।
दूई नाबालक छोरीलाई बिष खुवाएर मारेको आरोप लागेकी एक निर्दयी आमा जेल चलान भएकी छिन। मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा विष खुवाएर नाबालिका दुई छोरीको हत्या गरेको आरोप लागेकी २१ वर्षीया अस्मिता पौडेल (कार्की) जिल्ला अदालत मोरङका न्यायाधीश पारसमणि पोखरेलको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश भए पछि जेल चलान भएकी हुन्।
प्रहरीका अनुसार , अस्मिता पौडेल (कार्की)ले निर्माणाधीन घरमा पानी नलगाएको विषयमा श्रीमान अर्जुन कार्कीसँग विवाद भएपछि भदौ १४ गते छोरीहरु एकवर्षीया आइङ्का र तीन वर्षीया अर्पणा कार्कीलाई लिएर घरबाट हिडेकी थिइन् । भोलिपल्ट सुन्दरहरैँचा–७ का नारायण न्यौपानेको केरा बगानमा दुई छोरी मृत अवस्थामा फेला परेका थिए । अनुसन्धानका क्रममा विष खुवाएर उनीहरुको हत्या गरेको देखिएको थियो भने भदौ १९ गते उनलाई झापाको बिर्तामोडबाट पक्राउ गरेको थियो ।