पोखरा,१८ असोज २०८१।
काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको माइक्रो बस आज बिहानै सिन्धुलीमा दुर्घटनाग्रस्त हुँदा १५ जना घाइते भएका छन्।
१९ यात्रु लिएर विराटनगरतर्फ जाँदै गरेको बा ५ ख ६६१८ नम्बरको माइक्रोबस आज बिहान करिब साढे चार बजे सिन्धुलीको कमलामाई नगरपालिका- ८ भिमाननजिकै सिस्नेरीमा दुर्घटनाग्रस्त हुँदा चालकसहित १५ जना घाइते भएका हुन्।
घाइतेमध्ये ९ जनालाई थप उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्द काफ्लेले जानकारी दिए। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको काफ्लेले बताए। बाँकी ६ जना घाइते स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि अन्य सवारी साधनमा चढेर गन्तव्यतर्फ लागेका छन्। ’दुर्घटनामा माइक्रोबसका चालक अनुप सुन्दास पनि घाइते भएका छन्।
चालक निदाउँदा अथवा तीव्र गतिको कारण माइक्रो दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ। माइक्राे सडकबाट नालीमा खसेकाे प्रहरीले जनाएकाे छ।