पोखरा,६ असोज २०८१।
नेपाल पुलिस क्लबले माल्दिभ्समा सम्पन्न काभा महिला क्लब च्याम्पियनसिपको उपाधि उचालेको छ। शनिबार राति मालेमा भएको फाइनलमा उज्वेकिस्तानको हुमो भीसीलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस क्लबले उपाधि उचालेको हो।
पुलिस क्लबले पहिलो सेट २५–१६, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–२३ ले सहजै आफ्नो पक्षमा पार्यो।
पुलिस क्लब पहिलो सहभागितामा नै अपराजित रहँदै च्याम्पियन बन्न सफल भएको हो। यसअघि लिग चरणमा भएको पहिलो खेलमा हुमोलाई सोझो सेटमा पराजित गर्दै पुलिस क्लबले च्याम्पियनसिपको यात्रा शुरु गरेको हो।
पुलिस क्लबले नेपालको लिग विजेताका रुपमा च्याम्पियनसिपमा भाग लिएको थियो।
च्याम्पियनसिपका लागि पुलिस क्लबले राष्ट्रिय टोली तथा एपीएफकी सरस्वती चौधरी र निरुता ठगुन्ना तथा न्यू डायमण्ड स्पोर्टस क्लबकी सुमित्रा रेग्मीलाई अनुबन्ध गरेको थियो।