आईसीसी विश्वकप लिग २ : नेपाल ओमानसँग पनि पराजित

आईसीसी विश्वकप लिग २ : नेपाल ओमानसँग पनि पराजित


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३ असोज २०८१
  • 4.7K
    Shares

पोखरा,३ असोज २०८१।

आइसिसी विश्वकप क्रिकेट लिग-२ मा नेपालले आफ्नो खराब प्रदर्शन जारी राखेको छ। लिगमा पाँचौं हार बेहोर्ने क्रममा नेपालले बिहीबार विहान क्यानडामा सकिएको खेलमा ओमानसँग १ विकेटको हार ब्यहोर्‍यो।

नेपाल, ओमान र क्यानडाबीच जारी सिरिजमा नेपालले अघिल्लो खेलमा घरेलु टोलीसँग पनि हार बेहोरेको थियो।

बिहीबार नेपालले दिएको २२१ रनको लक्ष्य ओमानले अन्तिम बल बाँकी छदा ९ विकेटको क्षतिमा पूरा गर्दै रोमाञ्चक जित निकाल्न सफल भयो।

अन्तिम दुई ओभरमा ओमानलाई १० रन चाहिएको थियो भने एक विकेट मात्र बचेको थियो। जसमा नेपालका कारण केसीले ४९औं ओभरमा २ रन मात्र खर्चिए।

जसका कारण ओमानलाई अन्तिम ओभरमा ८ रन चाहियो। ओमानका कलीमुल्लाहले नेपालका सोमपाल कामीविरूद्ध पहिलो बलमा एक लिँदा सकील अहमदले दोस्रो बलमा चौका र चौथो बलमा एक रन लिए। पाँचौ बलमा कलीमुल्लाहले चौका प्रहार गरेपछि ओमानले एक बल बाँकी छदा जित निकाल्यो।

त्यसअघि ओमानले पहिलो विकेटका लागि ७५ रनको साझेदारी गरेको थियो। ओपनिङ ब्याटर जतिन्दर सिंहले १७औं ओभरमा सन्दीप लामिछानेको एलबिडब्लूको धरापमा पर्नुअघि ४९ बलमा ४१ रन जोड्दा ३ चौका र १ छक्का प्रहार गरे। अर्का ओपनर कश्यप प्रजापति तीन ओभरपछि ३६ रनमा आउट भए। उनलाई आरिफ शेखले आसिफ शेखबाट क्याच गराए।

त्यसपछि नेपालका लागि गुल्सन झाले राम्रो बलिङ गरे। उनले कप्तान अकिब इल्यासलाई २९ रन, आयान खानलाई ९ रन, शोहिब खानलाई २६ रन, फयज बटलाई ८ रन र जय ओडेड्रालाई ५ रनमा आउट गरे।

‍झाले ५ विकेट लिए। उनले १० ओभरमा २ मेडन राख्दा ४७ रन दिए। करण केसीले २ विकेट लिँदा सन्दीप लामिछाने र आरिफ शेखले १-१ विकेट आफ्नो नाममा लेखाए।

क्यानडाको ओन्टेरियोस्थित किंग सिटीको मेपल लिफ नर्थ-वेस्ट मैदानमा ओमानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा २२० रन जोड्यो।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ६० रन जोडे। उनले ७२ बल खेल्दा २ चौका र ४ छक्का प्रहार गरे। यस्तै गुल्सन झाले ३५ बलमा ५३ रनको योगदान दिए। उनले ३ चौका र ५ छ्क्का हिर्काए।

सोमपाल कामीले ८ बलमा २ छक्का प्रहार गर्दै जोडेको २० रनले नेपालले २ सय रन कटाउन सफल भयो।

यद्यपी नेपालले खेलमा सुरुवात भने राम्रो गर्न सकेन। कुशल भुर्तेलको स्थानमा ओपनिङको मौका पाएका अर्जुन साउदले ५ रन मात्र जोड्न सकेन। अर्का ओपनर आसिफ शेख ११ रनमा आउट भए। भीम सार्कीले पनि ११ रन मात्र जोड्न सके।

दोस्रो खेलमा मौका पाएका आरिफ शेखले ८८ बल खेल्दा ३५ रन बनाउन सकेन। उनले १ चौका प्रहार गरे। सातौं नम्बरमा ब्याटिङको मौका पाएका अनिलकुमार साह पनि चल्न सकेनन्। उनी ९ बलमा ३ रन जोडेर आउट भए। सन्दीप लामिछाने ११ रन र करण केसी १ रनमा पेभिलियन फर्के। नेपालले अघिल्लो खेल खेलेका कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लको स्थानमा अर्जुन साउद, आरिफ शेख र अनिल साहलाई खेलाएको थियो।

बलिङमा ओमानका कलीमुल्लाह, फयज बट र अकिब इल्यासले २-२ विकेट लिए।

सिरिजमा अब नेपालले तेस्रो खेलमा आइतबार राति घरेलु टोली क्यानडासँग आफ्नो तेस्रो खेल खेल्नेछ।

प्रतिक्रिया