सुशील ज्ञवालीले प्रगति विवरण देखाउन फर्जी तथ्याङ्क प्रयोग गरेको खुलासा

सुशील ज्ञवालीले प्रगति विवरण देखाउन फर्जी तथ्याङ्क प्रयोग गरेको खुलासा


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १२ चैत्र २०७३
  • 16.1K
    Shares

प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले एक वर्षको प्रगति विवरण देखाउन गलत तथ्याङ्कको सहायता लिएको रहस्य खुलेको छ । ज्ञवालीले पुस १२ गते ‘पुनःनिर्माण र पुनःस्थापनासम्बन्धी मुख्य कार्य प्रगति विवरण’ शीर्षकमा प्राधिकरणको वेभसाइटमा राखेको विवरणमा ४१ हजार ३ सय ११ घर पुनःनिर्माण भएको गलत तथ्याङ्क छ । यो शीर्षकको विज्ञापन त्यस दिनका पत्रपत्रिकामा पनि छपाइएको थियो ।

अहिले आएर राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको वेभसाइटमा भूकम्पपछि पुनःनिर्माण भएका घरको गलत तथ्याङ्क हटाइएको छ । प्राधिकरणको वेभसाइट डब्ल्युडब्ल्युडब्ल्यु डट एनआरए डट जिओभी डट एनपीमा भूकम्पपछि पुनःनिर्माण भएका घरको सङ्ख्या ४१ हजार ३ सय ११ थियो । तर यससम्बन्धी समाचार सार्वजनिक भएसँगै फर्जी तथ्याङ्क हटाइएको हो ।

वेभसाइटमा उल्लेख भएको सङ्ख्यामा घर पुनःनिर्माण नभएको सहरी विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाइको तथ्याङ्क छ । प्राधिकरणको वेभसाइटमा ‘पुनःनिर्माण सम्पन्न घर’ ४१ हजार ३ सय ११ र ‘बन्दै गरेका घर’ ३८ हजार ९ सय ५३ लेखिएको तथ्याङ्क आवरण पृष्ठमै थियो ।

सहरी विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाइमा बिहीबार दिउँसो ३ः४५ बजेसम्म प्राप्त तथ्याङ्कअनुसार निर्माण सम्पन्न घरको सङ्ख्या दुई हजार ४ सय ८४ रहेको वरिष्ठ डिभिजनल इन्जिनियर सुरेशकुमार वाग्लेले बताए ।

“ निर्माण सुरु भएको घर सङ्ख्या ४० हजार ३ सय ५९, पहिलो किस्ताले जग निर्माण गरी दोस्रो किस्ता माग गर्ने २० हजार १२, दोस्रो किस्ता भुक्तानीका लागि सिफारीस गरिएकाको सङ्ख्या पाँच हजार ७ सय ३० छ, तेस्रो किस्ता माग गर्ने एक हजार ८९ र तेस्रो किस्ता पाउन प्रमाणित हुने लाभग्राहीको सङ्ख्या ३ सय ३९ छ”– उनले भने ।

 

यस सम्बन्धमा प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसँग सम्पर्क गर्दा उनको फोनमा सम्पर्क हुन सकेन । ज्ञवाली कार्यरत रहँदा उनको प्रेस संयोजकका रुपमा काम गरेका भुवन केसीले केन्द्रीय तथ्याङ्क विभागले सर्वेक्षणका क्रममा ल्याएको प्रतिवेदनका आधारमा सो विवरण राखिएको दाबी गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार