पोखरा, ३१ असार २०८१/
कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अरु दुई जना घाइते भएका छन् ।
आइतबार बेलुका कालीकोटको रास्कोट नगरपालिका–५, आरसिपी बजार नजिकै फुकोटतर्फ जाँदै गरेको भे२त २६१२ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।
दुर्घटनामा परी चालक चिङ्गाड गाउँपालिका सुर्खेतका २७ वर्षीय वीर परियारको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा घाइते भएका चालक परियार सहित तीन जनालाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाँउ लगिएकोमा चालक परियारको सोमबार बिहान मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
सोही दुर्घटनामा परेर कालीकोट रास्कोट नगरपालिका-५ का २२ वर्षीय प्रकाश तिरुवा र २२ वर्षीय नम सार्की घाइते भएको प्राप्त समाचारमा जनाइएको छ। उनीहरूको प्रदेश अस्पतालमै उपचार भइरहेको छ ।
ट्याक्टर सडकदेखि अन्दाजी एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।