पोखरा, ३१ असार २०८१/
स्पेनले चौथो पटक युरोकपको उपाधि जितेर किर्तिमान कायम गरेको छ । जर्मनीको बर्लिनमा भएको फाइनलमा इंग्ल्याण्डलाई २-१ गोलको अन्तरले पराजित गर्दै स्पेनले सर्वाधिक चौथो पटक युरो कप जितेर किर्तिमान कायम गरेको हो।
स्पेन र इंग्ल्याण्डबिचको आजको फाइनल खेलमा पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो। दोश्रो हाफको ४७औं मिनेटमा निको विलियम्सले गोल गर्दै स्पेनलाई पहिले अग्रता दिलाएका थिए । तर ७३औं मिनेटमा कोल पाल्मरले इंग्ल्याण्डका लागि गोल गरेर खेललाई बराबरी बनाएका थिए। खेलको ८६औं मिनेटमा स्पेनका ओयाबाजलले गरेको गोल नै स्पेनलाई बिजयी बनाउने निर्णायक गोल बन्यो। यही गोलले नै स्पेनलाई चौंथो पटक युरोकप च्याम्पियन बनायो ।
स्पेनले सन् १९६४ को दोस्रो संस्करणमा पहिलो पटक उपाधि जितेको थियो भने सन् २००८ र २०१२ मा लगातार युरो जितेको थियो । स्पेन युरोको सर्वाधिक सफल टोली बनेको छ ।
इंग्ल्याण्ड भने लगातार दोस्रो पटक उपविजेतामै रोकिएको छ । यसअघि २०२१ मा भएको युरोको फाइनलमा इंग्ल्याण्ड घरेलु मैदानमै इटलीसँग पेनाल्टीसुटआउटमा पराजित भएको थियो ।