पोखराको प्राइम सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका अधिबक्ता इन्द्र बराल धरौटीमा छुटेका छन्।
कास्की जिल्ला अदालतका न्यायाधीश रामचन्द्र शर्माको इजलाशले उनलाई सोमबार धरौटीमा छाड्ने आदेश दिए पछि उनी अदालतको आदेश बमोजिम १२ लाख रुपियाँ धरौटी राखेर छुटेका हुन्।
पोखराको प्राइम बहुउद्देश्यीय सहकारी संस्थाको डेढ अर्बभन्दा बढी रकम अपचलन भएको ठगी मुद्दामा संलग्न रहेको भन्दै प्रहरीले उक्त सहकारीका कानुनी सल्लाहकार समेत रहेका अधिबक्ता बराललाई आइतबार पक्राउ गरेर सोमबार अदालतमा पेश गरेको थियो।
यसभन्दा अघि पनि पक्राउ परेका अधिबक्ता बराल अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरणको रिटपछि अदालतको आदेशपछि प्रहरीले बोलाएका बखत हाजिर हुने गरी थुनामुक्त भएका थिए । उनी थुनामुक्त भएपछी भने उनी बेपत्ता रहेका थिए।
उनीसँगै पक्राउ परेका मुख्य योजनाकार प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल र व्यवस्थापक निरु थापासहित सात जना गत विहीबार नै पुर्पक्षका लागि थुनामा गएका छन् ।
कास्की जिल्ला अदालतका न्यायाधीश रामचन्द्र शर्माको इजलासले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
६५ जना प्रतिवादी रहेको उक्त मुद्दामा अदालतमा उपस्थित ९ मध्ये बाँकी २ जना धरौटीमा रिहा भए । सेयर सदस्य एवं सल्लाहकार मानबहादुर गुरुङलाई ३५ लाख र सहकारी बैंकका पूर्व कर्मचारी सन्तोष घिमिरेलाई १ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो । घिमिरे भने अर्को सहकारी ठगी मुद्दामा कारागारमै छन् ।
सहकारीका निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला, अध्यक्ष शंकर कार्की, पूर्व कोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा अधिकृत सुनिल थापा र सुकुमबासी समितिका उत्तम मगरलाई पनि पुर्पक्षका लागि थुनामा छन् ।