पोखरा, ९ असार २०८१/
अविरल वर्षापछि आएको पहिरोले डुम्रे–बेँसीशहर सडक फेरि अवरुद्ध भएको छ। बेंशीशहर नगरपालिका–१ दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
अहिले पनि वर्षा जारी रहेको र पहिरो पनि निरन्तर खसिरहेकाले बाटो खुल्न समय लाग्ने जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईँले जानकारी दिए।
सडक अवरुद्ध भएपछि लमजुङबाट सङ्घीय राजधानी काठमाडौँ, गण्डकी प्रदेश राजधानी पोखरा तथा चितवन, भैरहवालगायत स्थान जानेआउने र बेँसीसहरतर्फको सवारी आवागमन बन्द भएको छ । बाटोमा सयौँ यात्री अलपत्र परेका छन् । यसअघि यही असार ४ गते पनि पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।