पोखरा, ६ असार २०८१/
पहिरोले बेँशीशहर–चामे सडक अवरुद्ध भएको छ। अविरल वर्षाका कारण बेँसीसहर नगरपालिका वडा नं ६ खरखरेभिरमा ठूलो ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।
खरखरेभिरमा सडक माथिबाट एउटा ठूलो ढुङ्गासहित पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइले जानकारी दिए। सोही बाटोमा पर्ने अक्टोपस झरनामा पानी बढेपछि आवागमन रोकिएको छ ।
हरेक वर्ष वर्षायाममा यो सडक पहिरोले अवरुद्ध हुने गरेको छ । बाढी पहिरोको सबैभन्दा बढी जोखिम रहेको स्थान खरखरेभिर नै हो । यहाँ पहिरो नियन्त्रणका निम्ति सङ्घीय सरकारले रु १६ करोड ४८ लाखको लागतमा आयोजना सञ्चालन गरेको भए पनि त्यो पूरा नहुँदा समस्या भएको छ ।