पोखरा, ५ असार २०८१/
टी-२० विश्वकप अन्तरगत नेपाल र बंगलादेश बिचको खेलमा नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेललाई दुर्ब्यबहार गर्ने बंगलादेशी बंगलादेशी खेलाडीलाई आइसीसीले कारवाही गरेकाे छ। खेलमा म्यान अफ द म्याचसमेत बनेका बंगलादेशी क्रिकेट टिमका फास्ट बलर तान्जिम हसन सकिबलाई आचारसंहिता ताेडेकाे आराेपमा आइसीसीले कारवाही गरेकाे हाे ।
नेपालकाे इनिङको तेस्रो ओभरमा तान्जिमले नेपाली कप्तान राेहित पाैडेलसँग नाेकझाेक गर्नुका साथै राेहितकाे शरीरमा हात लगाएकाे पाइएको आइसीसीले जानकारी दिएको छ। आइसीसीकाे खेलाडी आचारसंहिताकाे धारा २.१२ अनुसार अन्तर्राष्ट्रिय खेलमा कुनै पनि खेलाडीले गलत तरिकाले विपक्षी खेलाडीलाई शरीरमा छुन पाउँदैन ।
अन फिल्ड अम्पायर असन राजा र साम नाेगाज्स्कीकाे सिफारिसमा थर्ड अम्पायर जयरमन मदनगाेपाल र फाेर्थ अम्पायर कुमार धर्मसेनासमेत सहमत भएपछि कारवाही भएकाे हाे । उनलाई कारबाही स्वरुप म्याच फीकाे १५ प्रतिशत जरिवाना गरिएको छ ।
तान्जिमले आफ्नाे गल्ति स्वीकार गरिसकेका छन् । उनले आफूलाई गरिएकाे सजाय पनि स्वीकारेकाले औपचारिक सुनवाइ गर्नु नपरेको आइसीसीले जनाएको छ ।
खेलपछिकाे प्रेसमिटमा नेपाली कप्तान पाैडेललाई याे घटनाकाे विषयमा पत्रकारले साेधेका थिए । पाैडेलका अनुसार तान्जिमले उनलाई आँखा तरेर ‘हिट मी’ भन्दै उक्साउन खाेजेका थिए । त्यसपछि आफूले पनि ‘बल मी’ भनेर जवाफ दिएकाे उनकाे भनाइ छ ।
राेहितले तान्जिमकाे बलिङकाे तारिफसमेत गरेका थिए । ‘उहाँले राम्राे ठाउँमा बल फ्याँक्नुभयाे र हामीलाई कठीन प्रश्नहरू साेध्नुभयाे’ राेहितले भनेका थिए ।
दुई खेलाडीबीचकाे नाेकझाेक टेलिभिजन लाइभमा पनि देखिएकाे थियाे । तान्जिमले हातै हालेर राेहितलाई धकेल्न खाेजेकाे देखिएकाे थियाे । त्यसलगत्तै तान्जिमकाे बलमा आक्रामक सट खेल्न खाेज्दा राेहित आउट भए । खेलमा तान्जिमले चार ओेभरमा ७ रन मात्र खर्चेर ४ विकेट लिएपछि नेपालकाे बलिङ धराशयी बनेकाे थियाे ।