पोखरा, २१ जेठ २०८१/
पोखरामा आज ट्रिपर र मोटरसाइकल एकापसमा ठोक्किंदा एक किशोरीको मृत्यु भएको छ भने अर्का एक युवा घाइते भएका छन्।

लामाचौरतर्फ जाँदै गरेको ग १ ख ६३९४ नम्बरको टिप्परसंग सोही दिशातर्फ जाँदै गरेको लु ८७ प ९५२० नम्बरको मोटरसाइकल आज बिहान पोखरा महानगरपालिका–१३ गौडाकोमुखमा ठोक्किंदा एक जना किशोरीको मृत्यु भएको हो।
उक्त दुर्घटनामा परेर गम्भीर घाइते भएकी स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका घर भई पोखरा १३ काँहुखोला बस्ने वर्ष १८ की बबिता रिमालको उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। सोहि दुर्घटनामा परेर घाइते भएका मोटरसाइकल चालक पोखरा महानगरपालिका वडा नम्बर १४ चाउथे बस्ने २९ वर्षीय कमल थापा क्षेत्रीको सोही अस्पतालामा उपचार भैरहेको प्राप्त समाचारमा जनाइएको छ।
उक्त मोटरसाइकलले त्यस ट्रिपरलाई ओभरटेक गर्ने क्रममा ठोक्किएर दुर्घटनाग्रस्त भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी मीनबहादुर खड्काले जानकारी दिए ।