“जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार-२०८०” बाट पत्रकार नेपाल पुरस्कृत, फिल्मकर्मी शेरचन सम्मानित

“जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार-२०८०” बाट पत्रकार नेपाल पुरस्कृत, फिल्मकर्मी शेरचन सम्मानित


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १९ जेष्ठ २०८१
  • 10.4K
    Shares

पोखरा, १९ जेठ २०८१ /

पत्रकार विजय नेपाल “जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार-२०८०” बाट पुरस्कृत भएका छन् भने अग्रज फिल्मकर्मी विनोद शेरचन पनि सम्मानित भएका छन् ।

चलचित्र पत्रकार संघ नेपाल कास्कीको शनिबार सम्पन्न छैटौं साधारणसभामा “जितप्रसाद द्वा चलचित्र
पत्रकारिता २०८०” बाट पत्रकार बिजय नेपाल पुरस्कृत भएका हुन् भने अग्रज फिल्मकर्मी सम्मानित भएका हुन्।

नगद ३५ हजार र सम्मान पत्रबाट पुरस्कृत पत्रकार पाल्पा जिल्लाको रिब्दीकोट-७, मैनादीमा जन्मिएर बिगत २० वर्षदेखि पोखरामा पत्रकारितामा क्रियाशील छन् । उनी चलचित्र पत्रकार संघ नेपाल कास्कीका पूर्व सहसचिव हुन् र आदर्श समाज दैनिकमा कार्यरत् छन् । यसअघि सो पुरस्कारबाट श्रीराम सिग्देल, रेम विक र राजाराम पौडेल पुरस्कृत भैसकेका छन्।

यसैगरी सम्मानित पोखरा १० निवासी फिल्मकर्मी शेरचन २०४५ सालदेखि फिल्म निर्माण कार्यमा संलग्न छन्। उनको लगानीमा निर्मित नेपाली चलचित्रहरु कन्यादान, तृष्णा, बादलपारि, दुनियाँ चर्चित छन्।

उनीहरुलाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सम्मानित गरेका थिए। चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष प्रभू अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य सरिता तिमिल्सिना “पगेनी”, महासंघ गण्डकी महासचिव गोविन्द सुवेदी, महासंघ कास्की अध्यक्ष बिमला भण्डारी, प्रतिभा छनोट समिति संयोजक एवं संघ सल्लाहकार सुरेश रानाभाट, कास्की शाखा संस्थापक अध्यक्ष श्रीराम सिग्देल, निवर्तमान अध्यक्ष अरुण गिरी, जितप्रसाद द्वाका नाति एवं संघका सल्लाहकार समेत रहेका निकेश द्वा, पुरस्कृत व्यक्तित्व विजय नेपाल तथा सम्मानित विनोद शेरचन लगायतले बोलेका थिए भने कार्यक्रम सञ्चालन सचिव सन्तोष बस्यालले गरेका थिए ।

उक्त साधारणसभाले सचिव सन्तोष बस्याल र कोषाध्यक्ष सुरक्षा श्रेष्ठको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । २०६० असार २२ सालमा स्थापना भएको संघ कास्कीमा हाल ५५ सदस्य छन् ।

प्रतिक्रिया