पोखरा, १८ जेठ २०८१/
तनहुँको म्याग्दे गाउपालिकाका एक जना वडाध्यक्षको फेसबुक मेसेन्जर ह्याक गरेर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सर्लाहीको बागमती नगरपालिका-१ बस्ने २६ वर्षीय सुमन बुढाथोकीलाई म्याग्दे ४ का वडाध्यक्ष दिपक कुमार श्रेष्ठको फेसबुक ह्याक गरी रकम ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
अभियुक्त बुढाथोकीलाई जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीको सहयोगमा सर्लाही बागमती नगरपालिका-१ बाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
अभियुक्त बुढाथोकीले वडाध्यक्ष श्रेष्ठको फेसबुक ह्याक गरी लमजुङको मध्यनेपाल नगरपालिका वडा नम्बर ३ सुर्यपालका एक जनासंग फेसबुक म्यासेन्जरमार्फत केही रकमको आवश्यकता परेको भन्दै पटक पटक गरी एक लाख रुपियाँ ठगी गरेको प्रहरीले आरोप लगाएको छ।
उनी बिरुद्ध ठगी सम्बन्धी कसूरमा जिल्ला अदालत तनहुँबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।