हावाहुरीकाकारण रुख ढल्दा च्यापिएर गोरखामा एक जनाको मृत्यु

हावाहुरीकाकारण रुख ढल्दा च्यापिएर गोरखामा एक जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १८ जेष्ठ २०८१
  • 38.1K
    Shares

पोखरा, १८ जेठ २०८१/

बिहीबार साँझ आएको हावाहुरीका कारण रुख ढल्दा च्यापिएर गोरखामा एक जनाको मृत्यु भएको छ।

हावाहुरीका कारण रुख ढल्दा गोरखाको शहिदलखन गाउँपालिका–४ चैलिसेका ५० वर्षीय गिरबहादुर राना मगरको सोही रोखाले च्यापिएर मृत्यु भएको वडा अध्यक्ष यम बहादुर थापाले जानकारी दिए।

गाउँबाट घर फर्कने क्रममा बाटोमा काभ्रोको रुख ढलेर लाग्दा उनको मृत्यु भएको अध्यक्ष थापाको भनाइ छ। हावाहुरीका कारण दुई दर्जन भन्दा धेरै घरका छाना उडाएको र खेतिबालीमासमेत धेरै क्षति पुगेको छ।

यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार, हुरीले भएको क्षतिको बारेमा विवरण प्राप्त भइनसकेको नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ । पोल ढलेर विद्युत् सेवा अवरुद्ध हुँदा कयौँ स्थानका बासिन्दा प्रभावित भएका केन्द्र प्रमुख विजयराज रेग्मीले जानकारी दिए । व्यास–१० बैरेनी, व्यास–७ कलेस्ती, व्यास–१२ छिर्कन र व्यास–१३ खरीभञ्ज्याङलगायत स्थानमा विद्युत् अवरोध भएको बताए ।

यसैगरी, व्यास–११ बेल्टारीमा चारवटा विद्युत् पोल र रुख ढालेपछि विद्युत् सेवाका साथै सडक पनि अवरूद्ध भएको छ । ‘हुरीबतासले ठूला रुख समेत ढालेका कारण सडक अवरुद्व भएको छ । राति १० बजेसम्म टोली खटाएर काम गरे पनि अवरोध हटाउन सकिएन’, उनले भने । बिहीबार दिउँसो र साँझ हावाहुरीसँगै आएको असिना पानीले विभिन्न स्थानमा लाखौको क्षति पुगेको छ । व्यक्तिका घर, गोठ, विद्यालय, कृषि बाली, बिजुलीका पोलमा क्षति पुर्‍याएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।

गौतमका अनुसार हालसम्म प्राप्त जानकारी हावाहुरीले तीन सय घर, दुई विद्यालय, एक मन्दिरको छाना उडाउनुका साथै भत्काएको छ । चट्याङ्ग पर्दा व्यास नगरपालिका–८ रिस्तीमा एक घरमा क्षति पुगेको छ । क्षतिको विवरण सङ्कलन भएको नेपाल रेडक्रस तनहुँसँग समन्वय गरेर पीडितलाई त्रिपाल लगायतको व्यवस्थापन भइरहेको प्रजिअ गौतमले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार